arrow

उत्तम ग्रहगोचर भएको यस्तो हुनेछ समग्रमा धनुको वर्ष २०८०

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-dhanu-saggitarus.jpg

काठमाडौं । यो वर्ष तपाईका ग्रहगोचर सामान्यतः उत्तम नै देखिन्छन् । पञ्चम गुरुले गर्दा अध्ययन–अध्यापन र सन्तानपक्षमा उत्साहजनक अवस्था रहनेछ । धार्मिक, आध्यात्मिक, शैक्षिक तथा वाचिक क्षेत्रमा पनि उन्नति हुनेछ । 

शारीरिक र आर्थिक क्षेत्रमा हुँदै गरेको क्रमिक गर्दा मन प्रशन्न रहला र आत्मवलमा पनि वृद्धि हुनेछ । वाणीको उचित र संयमित उपयोगले अप्रत्याशित लाभ मिल्नेछ । घर परिवारमा कुनै माङ्गालिक कार्य हुने, कुनै तीर्थ जाने मौका जुर्नेछ । तेस्रो शनिले पराक्रममा वृद्धि गराउला साथै विद्यार्थी वर्गलाई पनि निकै सफलता मिल्नेछ । 

वर्षारम्भको एकादश केतु केही सहयोगी–लाभकारी रहनेछ । वैदेशिक कार्यमा पनि सफलता पाइनेछ । आश्विन मसान्तसम्म राहु चौथो र केतु दशम रहनेछ । जसका कारण आफ्नो कामप्रति आलस्य र स्वजनमा मतभेद उत्पन्न हुन सक्ने भएकाले संयम हुन आवश्यक छ । 

यसैगरी बृहस्पति तथा शनिको शुभ गोचरको प्रभावले स्वास्थ्य सम्बन्धित समस्या निवारण हुने, धन लाभ हुने, शत्रु पराजित हुने, सन्तानबाट सुख मिल्ने, शैक्षिक तथा बौद्धिक क्षेत्र सफल रहने समय छ । 

स्वास्थ्यः बृहस्पति ग्रहको पञ्चम गोचर तथा शनि ग्रहको तृतीय गोचरको शुभ प्रभावले यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ । लामो समयदेखि रहेका रोगहरु पनि यो वर्ष निको हुने वा कम हुन सक्ने समय छ । पेट तथा पाचन प्रणाली यो वर्ष राम्रो रहन सक्छ । शारीरिक बल पनि यो वर्ष बढ्न सक्छ । 

व्यापार, व्यवसाय र आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ । बृहस्पतिको शुभ गोचरले शैक्षिक, सामाजिक, वित्तीय, फेशन, खाद्यान्न, कृषि इत्यादि व्यवसायका व्यक्तिहरुले यो वर्ष राम्रो सफलता प्राप्त गर्न सक्छन् भने शनि ग्रहको शुभ गोचरले उद्योग, कलकारखाना, सूचना प्रविधि, अनुसन्धान आदि क्षेत्र पनि राम्रो रहन सक्ने समय छ । 

आम्दानीको मात्रा बढ्ने तथा दीर्घकालिन लगानी हुन सक्ने समय छ । शेयर बजारबाट पनि नाफा कमाउन सकिन्छ भने जग्गा जमिनको लगानीले पनि राम्रो परिणाम प्राप्त हुन सक्छ । आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहेका छन् । 

पेशा र रोजगारः सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्तिहरुको यो वर्ष पद प्रतिष्ठा तथा मानसम्मान बढ्न सक्छ । वकील, न्यायधीश, शिक्षक, राजनीतिज्ञ आदि व्यक्तिहरुले पनि सफलता प्राप्त गर्न सक्ने समय छ ।

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध राम्रो रहन सक्छ । प्रेम जीवनमा प्रवेश गर्न चाहने व्यक्तिहरुले प्रेमी–प्रेमिका प्राप्त गर्न सक्छन् भने विवाहको चाहना हुने व्यक्तिहरु यो वर्ष विवाह हुन सक्छ । सन्तानको कामना भएका व्यक्तिहरुलाई सन्तान प्राप्त हुन सक्छ । मातापिता, दाजुभाई तथा आफन्तहरुसंग पनि सन्तुलित सम्बन्ध रहन सक्ने समय छ । 

शुभ रंग, अङ्कः धनु राशिका लागि यो वर्ष पहेँलो, ध्वाँसे तथा आकाशे रङ्ग शुभ रहनेछ भने शुभ अङ्कहरु  २, ४, ७, ९ रहेका छन् । 

उपायः धनु राशि भएका व्यक्तिहरुले शनिबारको दिन भैरवको स्मरण गर्दा, पशुपंक्षीहरुलाई आहार दिंदा, गरिब दुःखीलाई सहयोग गर्दा गोचरगत राहु केतुजन्य अशुभ फलको निवारण हुन सक्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ