arrow

बृहस्पति र शनिको ग्रहशान्ति गर्दा शुभ हुने यस्तो हुनेछ समग्रमा वृश्चिकको यो वर्ष 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-brishik-scorpio.jpg

काठमाडौं । यो वर्ष तपाईका ग्रहगोचर त्यत्ति राम्रा छैनन् । चौथो (अढैया) शनिको प्रभावले मानसिक तनाव, मिथ्यापवाद, कामकार्यमा विलम्व हुनेछ । साथै दुःख परेशानी आइपर्ने, शारीरिक कष्टले पनि अत्यन्त सताउने योग देखिन्छ । आहार–विहार र दैनन्दिन क्रियाकलापादिमा अस्तव्यस्तता, चिन्ता, त्रास आदिको सामना गर्नुपर्नेछ । साझेदारीको व्यवसायमा वादविवाद आइपर्ने, कष्टसाध्य यात्राको योग पनि देखिन्छ । 

छैटौं वृहस्पति पनि त्यत्ति सहयोगी हुँदैन जसका कारण अनावश्यक भ्रमण र चिन्ताको योग ल्याउँछ । आश्विनसम्म राहु छैठौं रहेकाले रोग र शत्रुनाश गर्नेछ । कार्तिकबाट राहु पाँचौं हुने हुनाले सन्तान र अध्ययन–अध्यापनको क्षेत्रमा अनेक व्यवधान उत्पन्न गराउनेछ । एकादश केतु केही सहयोगी र लाभकारी हुनेछ । वैदेशिक कार्यमा भने केही सफलता मिल्नेछ । 

यसैगरी वर्षको पूर्वार्धमा राहु ग्रहको षष्ठ स्थानमा गोचर हुने भएकाले यश, कीर्ति बढ्ने र अर्थलाभ हुने देखिन्छ । तर बृहस्पति ग्रहको षष्ठ र शनि ग्रहको चतुर्थ अशुभ फलदायी रहनाले आफन्तसँगको सम्बन्ध टुट्ने, हानी नोक्सानी बढ्ने, शत्रुवृद्धि हुने, डरत्रासको अवस्थाले मनमा अशान्त हुने देखिन्छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको षष्ठ गोचरले यो वर्ष तपाईंको स्वास्थ्य कमजोर रहन सक्छ । कम्मर दुख्ने तथा पेट गडबड हुन सक्ने, खुट्टा सुन्निने, चिसोबाट समस्या हुने, छाती दुख्ने आदि समस्या तपाईंलाई देखिन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ । 

व्यापार, व्यवसाय, आर्थिकः व्यापार, व्यवसायका दृष्टिले यो वर्ष सामान्य देखिन्छ । वर्षको पूर्वार्धमा राहु ग्रहको षष्ठ गोचरले गर्दा उद्योग, कलकारखाना आदि क्षेत्र राम्रो रहन सक्छ । वर्षको उत्तरार्धमा केतु ग्रहको शुभ एकादश स्थानको गोचरले नयाँ कामको थालनी हुन सक्छ । शैक्षिक क्षेत्र, बैङ्क तथा वित्तीय क्षेत्र, फेशन डिजायन, प्राविधिक क्षेत्र आदि यो वर्ष सामान्य नै रहन सक्छन् । राहु तथा केतुको प्रभावले शेयर बजारबाट नाफा कमाउन सक्ने रहेपनि अनावश्यक खर्च हुन सक्छ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः गैरसरकारी तथा सामाजिक विकासका क्षेत्रमा काम संस्थाका व्यक्तिहरुको लागि प्रगति गर्ने समय छ । शिक्षक, राजनीतिज्ञ, वकील, प्रशासनका सचिव आदिको कर्मक्षेत्रमा प्रगतिको योग बनेको देखिन्छ । कलकारखानाका प्रबन्धक, आयोजनाका ठेकेदार तथा अन्य कामदार आदिका लागि यो वर्ष सामान्य रहन सक्छ । 

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक जीवन सामान्य रहन सक्छ। दाजुभाईबीच विवाद हुन सक्ने, मातापितासँग विचारमा मतभेद रहन सक्ने समय छ । प्रेम जीवनमा रहेकाहरुले आफ्नो प्रेमीको विचारको कदर गर्न नसक्दा समस्या आउन सक्छ । वैवाहिक जीवनमा पनि असमझदारी वा मतभेद हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने देखिन्छ । 

शुभ रंग र अङ्कः वृश्चिक राशिका लागि यो वर्ष रातो, सेतो तथा घ्यू रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु १, ४, ६, ७ रहेका छन् । 

उपायः वृश्चिक राशि भएका व्यक्तिहरुले शनिबारको दिन बिहान पीपलमा जल चढाउँदा, हनुमानजी तथा भैरवजीको स्मरण गर्दा र बिहीबार शुद्ध सात्विक भोजन गर्दा, विष्णु भगवानको स्मरण गर्दा राम्रो हुन्छ । बृहस्पति तथा शनिको ग्रहशान्ति गर्दा शुभ हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ