arrow

सावधानी रहनु पर्ने कर्कटको समग्रमा यो वर्ष

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-karkat-cancer.jpg

काठमाडौं । यस वर्ष कर्कट राशिका ग्रह त्यत्ति राम्रा छैनन् । आठाैँ (अढैया) शनिले गर्दा कार्यमा विलम्ब हुनेछ । दुःख, परेशानी आइपर्नेछ । शारीरिक कष्टले पनि सताउने, परिवारमा पनि मनोमानिल्यता हुनेछ । जागिरमा अवाञ्छित स्थानान्तरण हुनेछ । कुनै मुद्धा मामिला आइलाग्नेछ । आफ्नो इष्टमित्रबाट पनि धोका पाइने छ । 

शेयर कारोबारमा आंशिक लाभ देखिए पनि जोखिम नलिनु नै राम्रो हुनेछ । दशम गुरु केही अनुकूल हुनाले आफ्नो व्यवसाय र राज्यकार्यमा केही सन्तोष हुनेछ । वर्षारम्भमा केतु चौथो र राहु दशौं रहने भएकाले जागीरमा कलह र वादविवाद उत्पन्न हुनेछ । 

चौथो केतुका कारण यदाकदा आकस्मिक लाभ पनि मिल्न सक्नेछ । आश्विन मशान्तपछि राह–केतुको राशि परिवर्तले केही राहत दिने देखिन्छ । यस वर्ष कुनै ऋण लिनु र दिनुबाट जोगिनु उचित रहला ।

यसैगरी वृहस्पति, शनि, राहु आदिका गोचर अनुकूल नरहेकाले पारिवारिक विवाद पनि बढ्न सक्ने, शत्रुबाट समस्या हुने, मानसिक तनाव बढ्ने, सञ्चित धनको नाश हुन सक्ने, पढाईमा रुचि नलाग्ने, शारीरिक आलस्यता बढ्ने समय रहेको छ । 

स्वास्थ्यः गोचरको अष्टम शनि तथा अढैया शनिको प्रभावले गर्दा स्वास्थ्य स्थिति त्यति अनुकूल नरहन सक्छ । सवारी साधन, अग्लो स्थान तथा ढुंगाबाट चोटपटक लाग्न सक्छ । मुखमा घाउ आउनुका साथै टाउको दुख्ने तथा आखाँ सम्बन्धित समस्या देखा पर्न सक्ने भएकाले ध्यान दिनुपर्ने देखिन्छ । वर्षको अन्त्यतिरबाट स्वास्थ्यमा सुधार आउन सक्छ । 

व्यापार, व्यवसाय, आर्थिकः वृहस्पति ग्रहको गोचर दशौँ स्थानमा रहने भएकाले व्यापार तथा व्यवसायबाट घाटा हुन सक्छ । टेक्निकल तथा मेडिकलको क्षेत्र सामान्य नै रहेपनि शैक्षिक तथा कृषि क्षेत्रमा केही बाधा आउन सक्छ । वर्षको उत्तरार्धबाट वैदेशिक क्षेत्रका काम बन्नुका साथै व्यापार व्यवसायबाट मध्यम लाभ हुने समय छ । तीर्थयात्रा तथा अन्य भ्रमण पनि यो वर्ष हुन सक्छ । शेयर बजारबाट नाफा कमाउने समय छैन । आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना शुभ रहेका छन् ।

पेशा, रोजगारः वर्षको पूर्वार्धमा काममा समस्या आउने, अपजस सहनुपर्ने तथा प्रतिष्पर्धी तथा विरोधीहरु हावी हुनाले काममा सङ्कट आउन सक्ने समय रहेकाले ध्यान दिनुपर्छ । वर्षको उत्तरार्धबाट काममा सुधार तथा मानसम्मान प्राप्ति, शत्रुलाई पराजित गर्न सकिने समय छ ।

प्रेम सम्बन्धः यो वर्ष प्रेम जीवन तथा पारिवारिक जीवन सामान्य रहन सक्छ। पिता तथा पत्नीको स्वास्थ्य केही कमजोर रहन सक्छ । वैवाहिक जीवनमा विश्वासको सङ्कट देखा पर्न सक्ने भएकाले एक अर्काको भावना बुझ्नु पर्ने हुन्छ । प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमी–प्रेमिकाको मन जित्न अलिक प्रयास गर्नुपर्ने हुन्छ । वर्षको अन्तिम तिरबाट प्रेम तथा पारिवारिक जीवनमा सुधार हुन सक्छ ।

शुभ रंग, अङ्कः कर्कट राशिका लागि यो वर्ष हरियो, सेतो तथा पहेंलो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु २, ३, ६, ७ शुभ रहेका छन् । 

उपायः कर्कट राशिका व्यक्तिहरुले वृहस्पति, शनि तथा राहु केतुको ग्रहशान्ति पूजा जप गर्दा राम्रो हुन्छ । शनिबार सात्विक भोजन गर्ने, हनुमानजी तथा भैरवजीको दर्शन गर्ने गर्दा पनि शनि राहुको गोचरजन्य अशुभ फल कम हुन सक्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ