ग्लोबल आइएमई बैङ्कद्वारा विद्यार्थीहरू माझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
613
Shares
काठमाडौँ। ग्लोबल आइएमई बैङ्कले विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैङ्कको वार्षिक कार्यपालिका अनुरूप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको एघारौँ संस्करण ग्लोबल आइएमई बैङ्कले चैत्र ६ देखि १२ गतेसम्म सप्ताहव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारा सहित सम्पन्न गरेको हो।
ग्लोबल आइएमई बैङ्कले विभिन्न स्कूल तथा कलेजका हजारौँ विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ। यस अभियान अन्तर्गत बैङ्कले बैङ्किङ सेवा तथा वित्तीय बजार लगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। जसअन्तर्गत बैङ्कका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय सचेतना मूलक अन्तरक्रिया सञ्चालन भएका छन्। यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रब्यदृष्य सामग्रीहरू पनि प्रसारण गरेको छ।
यसका साथै, युवा/विद्यार्थीहरूलाई बैङ्कका शाखा कार्यालयहरूको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रम समेत विभिन्न ठाउँमा आयोजना गरिएको छ। सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मूलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो। तसर्थ बैङ्कले पनि यो अभियान सुरु भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैङ्कको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी बैङ्किङ शिक्षाको प्रचारप्रसार गर्दै आएको छ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरूमा पहिलो बैङ्कले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैङ्किङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।