arrow

जीपी फाउन्डेशन अमेरिकाले स्थापना दिवससँगै भब्य रुपले मनायो नारी दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
gp-koirala-foundation-2023-03-11.jpg

न्यूयोर्क । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस एवं गिरिजाप्रसाद कोइराला फाउन्डेशन (जीपी फाउन्डेशन) अमेरिकाको वार्षिकोत्सव तथा ब्ल्याकहिष्ट्री महिना २०२३ एक विशेष समारोह गरी भव्य रूपमा सम्पन्न गरेको छ । 

न्युयोर्क क्विन्समा आयोजित उक्त कार्यक्रमकी प्रमुख अतिथि क्विन्स डिस्ट्रिक्ट एटोर्नी मेलीन्दा काज थिइन् । उनी र फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले संयुक्तरूपमा पानसमा बत्ती बाली कार्यक्रमको शुभारम्भ गरेका थिए । 

वरिष्ठ पत्रकार एवं देशान्तर मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक कबिर राणा र काउन्सिल मेम्बर जुली वन विशेष अतिथि रहेका थिए । साथै प्रमुख अतिथि मेलिन्दा काट्जले सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (एसएनएलसीसी) स्थापना गरेर नेपाली डायस्पोराका बालबालिका र विदेशीलाईसमेत नेपाली भाषा र संस्कृति सिकाउने सानो सपना बोकेर शुरु गरेको दशौं वर्षको उपलक्ष्यमा पद्मा लींखा मगरलाई सम्मान गरिन् । 

त्यस्तै न्युयोर्क राज्यका ऐसेम्ब्लीमेम्बरत्रय जेनिफर राजकुमार, स्टिभन राघा र जेसिका गोन्जालेज रोहासले उत्कृष्ठ योगदानकर्ता नारीहरू र पंचकन्याहरुलाई सम्मानपत्र प्रदान गरी बधाई दिएका थिए । 

सो कार्यक्रममा  संयुक्त राष्ट्रसंघका विशिष्ठ प्रतिनिधिलगायत अमेरिकास्थित विभिन्न १७ राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। 

नेपालका विभिन्न सामाजिक एवं साँस्कृतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वलाई विशेष सम्मान एवं पुरस्कृतसमेत गरिएको थियो । स्थानीय उड्साइडस्थित गुल्सन टेरेसमा साँझ ५ बजेदेखि राति १० बजेसम्म संचालित उक्त कार्यक्रममा विभिन्न देश, भाषा, धर्म र समुदायका नारी एवं पुरूषहरूको बाक्लो सहभागिता थियो । 

कार्यक्रममा विश्वको ठूलो हिस्सा आफ्नो सशक्त उपस्थितिका साथ नारी दिवसलाई भव्यतासाथ मनाईरहेको अनुभूति गर्न सकिन्थ्यो । नेपाली पंचकन्याहरु नेपाली लोक एवं सांस्कृतिक नृत्यका साथै, चिनियाँ सांकृतिक कार्यक्रम, भारतीय पंजाबी नृत्य विशेष आकर्षणका केन्द्र बनेका थिए । 

कार्यक्रमलाई विशेष सम्बोधन एवं शुभकामना मन्तव्य दिँदै मेलिन्दाले नेपाल र नेपाली समुदायको उच्चसम्मान गर्दै जीपी कोइराला फाउन्डेशनले गरेको सामाजिक कामको आफूहरूले उच्च मूल्यांकन गरेको र आगामी दिनहरूमा अझै सशक्त ढंगले समाजसेवा गर्नेमा आफू विश्वस्त रहेको बताइन् । 

कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले संक्षिप्त मन्तव्य दिँदै नारी दिवसको महत्व एवं फाउन्डेशनका गतिविधिहरूको प्रशंसा गरेका थिए । 

कार्यक्रको शुरुआत अमेरिका र नेपालको राष्ट्रिय गानबाट भएको थियो भने स्वागत नृत्य वरिष्ठ नृत्य निर्देशक गोविन्द राई र  वरिष्ठ कलाकार बसन्ती राईबाट भएको थियो । त्यसपछि लगत्तै वरिष्ठ लोक दोहोरी गायिका संगीता थापाले राष्ट्रिय गान गाएर सबैलाई नेपालको झझल्को दिलाइन् ।

कार्यक्रमको संचालन एवं उद्घोषण गरिमा ज्ञवाली र पूजा कुँवर क्षेत्रीले संयुक्त रूपमा गरेका थिए भने फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले आमन्त्रित अतिथीको स्वागत एवं मन्तव्यदाताको आमन्त्रणमा सहजता प्रदान गरेका थिए । 

कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको र यसरी सम्पन्न गर्न आफूहरूको पुरै टीमको साथ रहेको भन्दै अध्यक्ष घिमिरेले उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिङ राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः सूर्य सिंखडा, ध्रुव कुँवर क्षेत्री, राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, रेखा श्रेष्ठ र चुन्डी शेर्पाको अथक खटाइको उच्च प्रशंसा गर्दै एकता नै बल हो भन्ने कुरा प्रमाणित भएको बताए ।

उनले कार्यक्रम प्रायोजन गर्न आर्थिक, भौतिक एवं नैतिक समर्थन गर्ने सबैलाई फाउन्डेशनका तर्फवाट धन्यवाद दिँदै उपस्थित सबैमा फाउन्डेशन परिवारको तर्फवाट आभार प्रकट गरेका थिष्ए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ