arrow

सम्पादकीय

संविधानको गरिमा जोगाउने जिम्मा रामचन्द्रको  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
president-ramchandra-poudel-third.jpg

रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रहेका पौडेलले प्रतिस्पर्धी एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतभारले पछाडि पार्दै गरिमामय पद सम्हाल्ने अवसर पाएका हुन् । 

यसअघि उनी संसदमा सभामुख, सरकारमा उपप्रधानमन्त्री तथा पार्टीमा कार्यवाहक सभापतिसम्म भइसकेका थिए । प्रधानमन्त्री हुन भने नपाएका रामचन्द्रले राष्ट्रको सबैभन्दा प्रतिष्ठित र सम्मानित पद पाएरै आफ्नो राजनीतिक यात्रालाई पूर्णविराम दिनेछन् । 

७८ वर्षे रामचन्द्रले छ दशकबढी राजनीति गरे । देशलाई योगदान दिए । र त्यही योगदानको फल आज पाउन सफल भएका छन् । सबैका अभिभावक बनेका छन् । देशको कार्यकारी प्रधानमन्त्री हुने भएकाले राष्ट्रपतिको पद सेरेमोनियल हो । तर सबैभन्दा सम्मानित पद हो । 

राष्ट्रपति संविधानको गरिमा बढाउने ठूलो पद हो । राष्ट्रपति संविधानको पालनकर्ता हो । नेपालको संविधान २०७२ अनुसार पनि राष्ट्रपतिलाई संविधान उल्लंघन गर्ने छुट छैन । राष्ट्रपति पालनकर्ता हो । 

मुलुकमा खड्किएको विषय भनेको संविधानको अक्षरसः पालनाको अभाव हो । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक संविधानको उल्लंघन गरेकाले अबको राष्ट्रपति कस्तो हुने भन्ने बहस ब्याप्त छ । 

भण्डारीले अपनाएको नीतिले राष्ट्रपति हैन कार्यकारी वा राजाको शैलीमा अगाडि बढेको विश्लेषण हुन थालेको थियो । उनले संविधान मिचेरै संसद विघटन गरेकी थिइन् । संविधानमा हुँदै नभएको नियममा टेकेर केपी शर्मा ओलीले संसद विघटनको सिफारिस लगेर राष्ट्रपति कार्यालयमा पुगेको र भण्डारीले त्यसलाई आँखा चिम्लेर स्वीकार गरेकी थिइन् । 

उनले एक पटक त गल्ती गरिन् नै तर जब सर्वोच्च अदालतले संसद विघटन नहुने फैसला सुनायो त्यसपछिसमेत भण्डारीले संसद विघटन गरिन् । त्यतिमात्र हैन उनले संसदबाट पारित भएर गएको विधेयकलाईसमेत रोकेर संविधानको उल्लंघन गरिन् । 

उनले संविधान उल्लंघन गर्दासमेत उनीमाथि कारबाही भएन । यसको निरुपणसमेत भएन । उनमा नैतिकतासमेत देखिएन । पटक पटक संविधान मिच्दासमेत उनलाई कुनै ग्लानिबोध भएको पाइएको छैन । 

यसबाट के बुझिन्छ भने राष्ट्रपतिजस्तो गरिमामय पदको गरिमा राख्ने काम स्वयं राष्ट्रपतिको हो । त्यो गरिमा विद्याले राख्न सकिनन् । अब पालो रामचन्द्रको हो । उनी विधिको शासनको पालना गर्दैै संविधानको रक्षार्थ कटिबद्ध भएर लाग्न सकुन् । 

जसरी विद्यादेवीले एउटा दल विशेषको एजेन्डा बोकेर राष्ट्रपति पदको दुरुपयोग गरिन् त्यसबाट पाठ सिकेर कार्यभार सम्हालेको दिनदेखि नै रामचन्द्रले दलीय एजेन्डा नबोकुन् । उनी कुनै दल विशेषको हैन सिंगो मुलुकका राष्ट्रपति बन्न सकुन् । सम्पूर्ण नेपालीका अभिभावक बन्न सकुन् । संविधानको गरिमा जोगाउने जिम्मा रामचन्द्रको । हार्दिक मंगलमय शुभकामना ! 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ