arrow

राष्ट्रपतिमा निर्वाचित को हुन् रामचन्द्र पौडेल ? [वैयक्तिक विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
president-ramchandra-poudel-third.jpg

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिको रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति भए पनि चौथो कार्यकालको राष्ट्रपति हुनेछन् । 

हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले दुई कार्यकाल खाएकाले पौडेलको कार्यकाल चौथो हुनेछ । डा. रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुन् । पौडेलले नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङलाई पराजित गरे । 

७८ वर्षीय रामचन्द्र पौडेलको जन्म २००१ साल असोज २९ गते तनहुँ जिल्लामा भएको थियो । २०१६ सालदेखि राजनीतिमा होमिएका पौडेलले त्यसपछि भने निरन्तर राजनीतिलाई नै अँगाले । २०२७ सालमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भएका उनी २०४० सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख भएका थिए । 

२०६४ देखि २०७० सम्म कांग्रेस संसदीय दलको नेता भएका पौडेल २०७२ सालमा केन्द्रीय कार्यवाहक सभापतिसमेत भएका थिए । 

उनी २०७२ सालदेखि हालसम्म कांग्रेसका वरिष्ठ नेता रहँदै आएका छन् । २०१८ सालमा पहिलो पटक गिरफ्तार भइ एक महिनाको जेल सजाय भोगेका रामचन्द्र विद्यार्थी आन्दोलनका क्रममा २०२१ सालमा एक वर्ष राजबन्दीमा परे ।

त्यसपछि पटक पटक जेलमा परेका उनी रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ सालमा गिरफ्तारीमा परी चार वर्ष बन्दी भएका थिए । त्यो नै सबैभन्दा लामो समयको बन्दी समय थियो । 

उनी २०४६ सालसम्ममात्र हैन २०६२–६३ को आन्दोलनका क्रममा पनि पटक पटक गिरफ्तार गृहबन्दीमा परेका थिए । 

रामचन्द्र पौडेल छ पटक सांसद भइसकेका छन् । २०४८ सालमा सांसद बनेका उनी २०७४ सालको निर्वाचन बाहेक लगातार सांसदमा निर्वाचित भएका थिए । 

उनी २०४८ सालमा पहिलो पटक स्थानीय विकास मन्त्री भएका थिए । त्यसयता उनी निरन्तर मन्त्री भए । २०५१ सालमा उनी सभामुख भएका थिए । 

उनी उपप्रधानमन्त्रीसमेत भए । तर प्रधानमन्त्रीका लागि भने १७ पटकको निर्वाचनमासमेत असफल भएपछि प्रधानमन्त्री बन्न पाएनन् । 

रामचन्द्र पौडेलले सन् २०२० मा जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ को अवार्ड पाएका छन् । 

पौडेलले ११ वटा पुस्तक लेखिसकेका छन् । त्यस्तै सयौं लेख पत्रपत्रिका, अनलाइन लगायतमा लेखिसकेका छन् । उनले जेलजीवनका क्रममा कविता तथा निबन्धसमेत लेखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ