arrow

तेजु स्मृतिमा तीन लाखको अक्षयकोष घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
teju-smriti(1).jpg

डोटी । नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा तीन लाख १३ हजार एक सयको अक्षयकोष घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच नेपाल प्रेस युनियन डोटी शाखाले अक्षयकोषको घोषणा गरेको हो ।

स्वर्गीय पत्रकार “तेजु स्मृति पत्रकारिता पुरस्कार” स्थापनाका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरूले जन्मोत्सवका अवसरमा सहयोग गरेको रकमबाट तेजु स्मृति अक्षय कोष घोषण गरेको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिए ।

अध्यक्ष बमले भने,‘हरेक २ वर्षमा प्रेस युनियनको स्थापना दिवस ज्येष्ठ १३ गतेका दिन एक व्यक्तिलाई पुरस्कार प्रदान गरिनेछ । सञ्चालक समितिले उपर्युक्त ठानेमा सो पुरस्कार संयुक्त रूपमा दुई जनालाई पनि प्रदान गर्न सिफारिस गर्न सकिने छ । हामीले तेजु स्मृति पुरस्कार अक्षयकोष सञ्चालन निर्देशिका- २०७९ उक्त कुरा उल्लेख गरेका छौ ।’

उनले थपे,‘ अक्षय कोष गर्न केही ढिलाइ भएकोले प्रथम पटकको पुरस्कार वितरणका लागि भने शाखाले अक्षयकोष भन्दा बाहिरको स्रोत खर्च गर्ने व्यवस्था गरेको छ ।’
तेजु स्मृति पुरस्कार लागि देश भरीमा क्रियाशील, जुनसुकै आस्था र विचारमा विश्वास राख्ने भएता पनि समग्र प्रेस जगतको हक, हित र संरक्षण एवम् समाचार सम्प्रेषणमा उत्कृष्ट हुनुपर्नेछ अध्यक्ष बमले भने ।

निर्देशिका मस्यौदा समितिका संयोजक तथा नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष मोहन शाहीका अनुसार पुरस्कार छनौटका लागि नेपालमा कार्यक्षेत्र बनाइरहेको पत्रकार, लेखक, स्तम्भकार, फोटोग्राफर, कलाकार, अभियन्ता तथा बौद्धिक व्यक्तित्वको छवि बनाइ सामाजिक जीवनयापन गरिरहेको हुनु पर्ने छ । उनले भने , पुरस्कार छनोट गर्ने मितिमा कम्तीमा ५ वर्ष अनवरत रूपमा क्रियाशील रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा विशिष्ट योगदान दिएको ।

डोटीको पत्रकारिता एवम् विकासका लागि योगदान पुर्‍याएको व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ छ । पत्रकारको आचार संहिता उलङ्घन नगरेको र पत्रकारिताका मूल्य, मान्यता र आदर्शलाई शिरोधार्य गरेको, सामाजिक रूपमा निर्विवादित र सामाजिक मर्यादालाई पालना गरेको हुनुपर्ने छ।’

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गीय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलमा कार्यरत थिए । उनी लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनी बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । स्व. पत्रकार खड्कालाई अमर राख्ने शाखाको अभियानलाई सहयोग गरेर अक्षय कोष स्थापनामा महत्त्वपूर्ण सहयोग गर्ने सम्र्पुमा शाखाको तर्फबाट अध्यक्ष बमले हार्दिक धन्यवाद व्यक्त गरे ।

शाखाले दिपायलमा रहेको महालक्ष्मी विकास बैङ्कमा स्व.‘तेजु’को स्मृतिमा तीन लाख १३ हजार एक सयको मुद्धतिखाता खोलिएको शाखाका प्रबन्धक भीम रावतले जानकारी दिए ।
घोषणा कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष मोहन शाही, युनियनका जिल्ला शाखाका अध्यक्ष बम लगायत जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ