arrow

राष्ट्रपतिबारे गण्डकीमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
ramchandra-poudel2.jpg
फाइल तस्वीर

पोखरा । आसन्न राष्ट्रपति निर्वाचनलाई ध्यानमा राख्दै गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले छलफल शुरु गरेका छन् ।

आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन यी दुई दलबीच छलफल शुरु भएको हो । 

कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा दुवै पार्टीका प्रदेश प्रमुखहरु पनि सहभागी थिए । 

कांग्रेस सभापति शुक्रराज शर्मा र माओवादीको गण्डकी अध्यक्ष गायत्री गुरुङसमेतको उपस्थितिमा पौडेललाई विजयी गराउनका लागि ऐक्यवद्धता जनाइएको छ । 

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको सक्रियतामा बैठक आह्वान गरिएको हो ।

‘राष्ट्रपति निर्वाचनका लागि ८ दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनको साझा उम्मेद्वार रामचन्द्र पौडेल हुनुहुन्छ,’ पाण्डेले भने, ‘उहाँलाई निर्वाचित गराउन हामी सबै एकजुट भएका हौं ।’ 

गठबन्धनका सबै सांसदहरुसमेतको उपस्थितिमा १९ गते बृहत बैठक डाक्ने निर्णय समेत भएको पाण्डेले बताए । 

‘अब १९ गते सबै सांसदहरु समेतको उपस्थितिमा बैठक हुन्छ । पोखरामा नै बैठक गरेर मतदानका लागि जाने योजना छ,’ पाण्डेले भने, ‘दलका नेताहरुबीच औपचारिक भेटघाट गरिएको हो । सांसदज्यूहरुसँग पुनः बस्छौं ।’ 

बैठकमा सहभागी माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सांसदहरुसँगको बैठकको तयारी भैरहेको बताए । ‘यो बैठक अर्को बैठकको तयारी हो । सबै माननीयज्यूहरुलाई एकै ठाउँमा राखेर बैठक बस्ने तयारी भैरहेको छ,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ