गुगलको 'बार्ड च्याटबट'को गल्तीले गुम्यो सय अर्ब डलर
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
2.2k
Shares
काठमाडौं। गुगलले आफू कृत्रिम बुद्धिमत्ता (एआई) मा पनि सबैभन्दा अगाडि रहेको भनेर मानिसहरूलाई आश्वस्त पार्ने तरिकाहरू खोजिरहेको छ। तथापि यसका नयाँ कदमहरु असफल जस्तो हुँदै गएका छन् ।
तीन दिनअघि मात्रै गुगल र यसको अभिभावक कम्पनी अल्फाबेटका सीईओ सुन्दर पीचाइले कम्पनीले एआईमा आधारित च्याटबट 'बार्ड' ल्याएको सार्वजनिक गरेका छन् ।
यसअघि ओपनएआई संस्थाले बनाएको च्याटजीपीटी एआई च्याटबटलाई माइक्रोसफ्ट कम्पनीले समर्थन गरेपछि गुगलले एआई क्षेत्रबाट पछि पर्ने र गुगलको सर्च इञ्जिन नै पछि पर्न सक्ने अनुमान हुन थालेको थियो ।
यस्तोमा गुगलले आफू पनि अघि नै रहेको भन्ने देखाउन बार्ड च्याटबट सार्वजनिक गरेको थियो। तर गुगलको बार्ड च्याटबटले गलत जवाफ दिएसँगै बुधबार कम्पनीको सेयर करिब ८ प्रतिशतले घटेको छ ।
सोमबार बार्डको प्रमोशनका लागि ट्विटरमा पोस्ट गरिएको प्रश्न जवाफको फोटोमा जेम्स वेब स्पेस टेलिस्कोपको पछिल्लो खोजहरूबारे नौ वर्षको बच्चालाई के भन्ने भनेर प्रश्न सोधिएको थियो ।
Bard is an experimental conversational AI service, powered by LaMDA. Built using our large language models and drawing on information from the web, it’s a launchpad for curiosity and can help simplify complex topics → https://t.co/fSp531xKy3pic.twitter.com/JecHXVmt8l
त्यसको जवाफमा बार्ड च्याटबटले जेम्स वेब स्पेस टेलिस्कोप पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्बिरहरू लिने पहिलो टेलिस्कोप भएको भन्दै जवाफ दियो । तर वास्तवमा सन् २००४ मा नै युरोपियन साउर्थन अब्जरभेट्री भेरी लार्ज टेलिस्कोप (भीएलटी) ले एक्जो प्लानेट अथवा बाह्य ग्रहको तस्बिर खिचिसकेको थियो ।
गुगलको क्षमतामाथि प्रश्न उठेसँगै कम्पनीको शेयरमा ठूलो गिरावट आउँदा कम्पनीले १०० अर्ब अमेरिकी डलरको बजार भ्यालु गुमाएको हो।