निर्वाचनपछि पहिलो पटक एकीकृत समाजवादीको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
714
Shares
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलो पटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउसो उद्घाटन गर्ने छन्।
अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा.बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ।
उक्त प्रतिवेदनमा पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ। बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्न सक्ने जनाइएको छ।
सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ। आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समय सीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ।