arrow

बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
sandeep-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएको आदेशको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश हरि फुयाँलको आजको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको हो ।

सर्वोच्चले सन्दीपलाई किन र के आधारमा छाडेको हो भन्ने विवरण सहितको प्रतिवेदन मगाउन आदेश गरेको हो । सर्वोच्च अदालतमा यस्ता प्रकृतिका मुद्दामा धरौटीमा रिहा गर्ने नजिर नभएको भन्दै महान्यायाधीवक्ताको कार्यालयले उच्च अदालतको आदेश बदरसहित सन्दीपलाई थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन निवेदन दिएको थियो । 

नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीपलाई गत पुस २८ गते उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भए पनि मुद्दा कायमै रहँदा नेपाल क्रिकेट संघ क्यानले भने बुधबारमात्रै सन्दीपको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेको छ । 

क्यानको यो कदमको सामाजिक संजालमा चर्को विरोध भइरहेको छ । गत भदौ ५ गते उनले एक नाबालिगलाई बलात्कार गरेको आरोपसहित भदौ २१ गते उजुरी परेपछि जिल्ला अदालत काठमाडौंले भदौ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही दिन नै क्यानले तत्कालीन कप्तान सन्दीपलाई निलम्बन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ