arrow

बलात्कार आरोपी सन्दीपलाई समेटेर राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
sandeep-lamichhane-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोपी पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै दोस्रो चरणको बन्द प्रशिक्षणका लागि टिम घोषणा गरेको छ ।

यसअघिको २८ सदस्यीय टोलीबाट १० जना हटाएर सन्दीपलाईसमेत थपेर क्यानले २० सदस्यीय टिम घोषणा गरेको हो । आगामी फागुन २ गतेदेखि काठमाडौंमा हुने नामिबिया र स्कटल्याण्डसमेत सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाका लागि नेपाली टिमले सन्दीपलाईसमेत समावेश गरेको हो । 

नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीपको मुद्दा अदालतमा चलिरहेको छ । तर उनलाई क्यानले निलम्बन फुकुवा गर्दै बन्द प्रशिक्षणमै राखेको हो । 

एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौ २३ गते निलम्बन गरेको थियो । तर पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले बुधबार मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

सन्दीप विरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।  गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

तर धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएको आदेश बदर माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले उनीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ । उक्त निवेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ । 

मुद्दाको किनारा नलाग्दै यसअघिका २८ जनाको टोलीमा नसमेटिएका सन्दीपसँगै प्रतिश जीसीलाई पनि समेटिएको छ । 

दोस्रो चरणमा सन्दीप र प्रतिशसँगै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित नारायण राजवंशी, सन्दीप जोरा, भिम सार्की, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी, अर्जुन साउद छन् ।

बाहिरिने खेलाडीमा शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ