arrow

कमोडिटी मार्केटका नाममा करोडौं ठगी, एक्सचेन्ज र ब्रोकर कारबाहीमा

logo
प्रकाशचन्द्र जोशी
प्रकाशित २०७९ माघ ६ शुक्रबार
commodity-mex-nepal-commodity-tradaing.jpg

काठमाडौं । सेयर बजारमा सेयर किनबेच भएझैं सुन, चाँदी, तेल, धान, गहुँजस्ता कमोडिटी (वस्तु)को किनबेच हुने बजार कमोडिटी एक्सचेन्जका नाममा हुँदै आएको करोडौंको ठगी बाहिरिएको छ। नेपालमा कमोडिटी मार्केट अहिलेसम्म अवैध छ।

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कुनै पनि कमोडिटी एक्सचेन्जलाई अनुमति नै दिएको छैन्, यहाँसम्मकि स्टक मार्केटसमेत नेपालमा एउटा मात्रै नेपाल स्टक एक्सचेन्ज(नेप्से) रहेको छ।

यस्तोमा सेबोन र सम्बन्धित सरकारी निकायको अनुमति नै नलिई नेपालमा मर्केन्टाइल एक्सचेन्ज (मेक्स) नामको कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याएर करोडौं ठगी भइरहेको खुलासा भएको हो ।

यस्तो छ ठगीको धन्दा

सुन, चादी, तामा, तेल, अन्न जस्ता वस्तु ठूलो मात्रामा उत्पादन एवं निर्यात गर्ने देशहरुमा कमोडिटी एक्सचेन्ज मार्केटहरु सञ्चालनमा रहेका छन्। तर, यो खासै गतिलो नभएकै कारण सेयर मार्केट नै प्रमुख एक्सचेन्ज मार्केटका रुपमा रहेको छ।

नेपालमा मेक्स नेपाल वर्षाैंदेखि कमोडिटी एक्सचेन्ज बनेर सञ्चालनमा रहेको छ भने, काठमाडौं लगायत विभिन्न ठाउँमा यसका दर्जनाैं ब्रोकरहरु रहेका छन्।

यी ब्रोकरहरुले फेसबुकलगायत विभिन्न ठाउँमा सेयर मार्केट तालिम भनेर विज्ञापन हाल्ने गरेका छन् । तर, त्यहाँ सेयर मार्केट खासै हैन् भनेर, तालिम लिन जानेहरूलाई कमोडिटी मार्केटमा लाग्न सिकाइने रहेछ।

नेपालमा सेयर मार्केटमा कुनै एक सेयर किनेपछि तीन दिनपछि मात्रै बेच्न मिल्छ । विश्वका ठूला एक्सचेन्जहरूमा इन्ट्रा डे अर्थात एकैछिनमा किनेर बेच्न सकिने गरी काराेबार पनि हुन्छ ।

नेपालमा यसरी तालिम दिनेहरूले कमोडिटी मार्केटमा एक छिनमै किनबेच अथवा इन्ट्रा डे काराेबार गर्न सकिने र करोडौं कमाउन सकिने भन्दै लाेभ देखाइँदाे रहेछ ।

सेयरर्माेकटबाट अलि कमाउन थालेका युवाहरु यसरी कमोडिटीका नाममा ठग्नेहरुको दलदलमा पर्न पुग्छन्। कोभिड-१९काे महामारी पछि सेयर मार्केटले गती लिएको बेला कमोडिटीका नाममा ठग्नेहरुहरुले पनि फाइदा उठाए।

ठगी प्रक्रिया

यसरी मार्केटकाे तालिम दिन्छु भन्ने ठाउँबाट या कतैबाट भेटेकाे एउटा ब्रोकर कहाँ कुनै व्यक्ति (कमाेडिटी ट्रेडर)ले एक हजार (ब्राेकरकाे शर्त अनुसार) रूपैयाँ राखेर आफ्नो कमोडिटी ट्रेडिङको खाता खोल्छ।

त्यसपछि उसलाई ट्रेडिङ गर्न मिल्ने एउटा क्लाइन्ट आईडी र पासपाेर्ट दिइन्छ र कमोडिटी ट्रेडिङ गर्न मेक्स नेपालको मोबाइल एवं कम्प्युटर एपमा इन्सटल गर्न वा प्रयाेग गर्न भनिन्छ। त्यहाँ साे व्यक्तिले क्लाइन्ट आईडी र पासपाेर्ट  राखेर लगइन गर्न सक्छ। 

अब, उसले आफ्नो बैंक अकाउन्टबाट ब्रोकरले उपलब्ध गराउने बैंक अकाउन्टमा पैंसा हाल्नुपर्ने हुन्छ। 

पैंसा हालिसकेपछि मेक्सको साेही ट्रेडिङ गर्ने एपमा गएर 'यो बैंकबाट यो नामको खाताबाट यो बैंकमा यति पैंसा हालिसके' भनेर नोट लेखेर पठाउनु पर्नेहुन्छ ।

त्यसपछि त्यो ब्रोकरले या कुनै एक ठगले ट्रेडर पैंसा हाले/नहालेकाे कन्फर्म गर्छ, र साे पैंसा साे ट्रेडरकाे मेक्स नेपालको ट्रेडिङ अकाउन्ट उपलब्ध भएको देखिन्छ ।

अब, गर्छ त्यो ब्यक्तिले आफ्नो पहिलो कमोडिटी ट्रेड

कसरी हुन्छ ट्रेडिङ र नाफा/घाटा?

मेक्सकाे साे एपमा सुन, चाँदी, तामा, तेल,गहुँलगायतका कमोडिटीको मूल्य घटबढ भइरहेको र पूरानो मूल्य के कस्ताे थियाे भन्नेलगायतकाे जानकारी देखिन्छ।

मानौं विगतको मूल्यको डेटा हेर्दा तपाईले अनुमान गरेर अब, सुनको मूल्य बढ्ने ठान्नु भयो र तपाईले ९० हजार रुपैयाँ तोलाका दरमा १ तोला सुन किन्नु भयो।

मानौं, १० मिनेटमै त्यो सुनको मूल्य बढेर १ लाख पुग्यो र तपाईले बेच्नु भयो भने, अघि ९० हजारमा किनेको १० हजार नाफा भयो।

मानौं १० मिनेटमा त्यो सुनको मूल्य घट्यो र ८० हजार पुग्यो भने, तपाई अझैं घट्यो भनेर आत्तिनु भयो र बेच्नु भयो भने, १० हजार घाटा भयो।

हेर्दा सामान्य छ, तर यहाँ छ अब, बबण्डर ।

बबण्डर के ?

यो सबै देखिने र यो सिस्टम चल्ने मेक्सको सफ्टवयरको सर्भर सिंगापूर र साईप्रसमा रहेको अनुमान गरिएको छ। यसमा जति जनाले जति सुकै पैंसा हालेर जति गुमाए पनि सबै मेक्स र यससँग मिलेका ठगहरुको खातामा नै जाने गरेकाे देखिएकाेछ।

नाफा होस् या घाटा कुनै पनि वस्तु किन्दा र बेच्दा दुवै पटक ब्रोकरले ५/५ प्रतिशत कमिसन खान्छ। कर-'टीडीएस' भनेर पनि तपाईको सावाबाट केही रकम काटिन्छ र मेक्स या ब्राेकरकाे अकाउन्टमा जान्छ।

न सेबोनबाट अनुमति पाएको नत, सरकारलाई कर बुझाउने मेक्स र यसका ब्रोकरहरुले ट्रेडरहरुको सबै पैंसा घाटा भएको देखाएर र करका लागि काटिएको र कमिसन भनेर सबै ठग्छन्।

ट्रेडमा यसरी हुन्छ घाटा/ठगी

सेयर मार्केटमा ५/१० प्रतिशत मार्जिन मिलेझैं यहाँ ट्रेड गर्न हजार प्रतिशत भन्दा बढी मार्जिन मिल्छ।

यसको अर्थ तपाई ११,५०० रुपैयाँ हालेर २५० ग्राम सुनको कारोबार गर्न सक्नु हुन्छ । २५० ग्राम सुनको मूल्य मानौं २० लाख परे पनि अब, मूल्यमा आउने सानो थपघटले एक सेकेण्डमै तपाईको ११ हजार ५०० गायब हुन्छ ।

मानौं, तपाईले ११ हजार ५०० हालेर २० लाखरुपैयाँ पर्ने २५० ग्राम सुन किन्नु भयो। अब, ५ मिनेटमा किनेको दर भन्दा ०.१ प्रतिशत मात्रै पनि सुनको मूल्य घट्यो भने तपाईले १० हजार गुमाउनु हुन्छ। ५ मिनेटमा १० हजार र बढ्यो भने १० हजार नै कमाउनु हुन्छ।

तर, यो मूल्य निर्धारण गर्नेदेखि के कुराको मूल्य कतिबेला घटाउने, कति बेला बढाउने भन्ने बिषय यीनीहरुसँग नै रहेकाे सफ्ट्वयरमा निर्भर हुने भएकाले चाहेअनुसार ठगी गर्ने गरेकाे देखिएकाे छ, यद्यपि विस्तृत जानकारी प्रहरी अनुसन्धानबाट पत्ता लाग्नेछ।

ट्रेडरले गुमाएकाे पैंसा यी नै ब्रोकर र सञ्चालकको खातामा जान्छ।

ब्रोकरहरु आफैले कमाेडिटी ट्रेडिङमा ९९ प्रतिशतले गुमाउने हो भन्ने गरेका हुन्छन्। यसबाट पनि पूरै बजार मूल्यको नियन्त्रण यीनीहरुकै हातमा हुनसक्ने शंका गरिएकाे छ।

आफु कमाउने १ प्रतिशतमा पर्ने भन्ने ठान्दै ट्रेडिङ गर्ने सबैले यहाँ निरन्तर पैंसा गुमाउँछन्।

कति परे ठगीमा?

सेयर मार्केटमा गरिखान लागेको युवाहरुलाई उठाएर कमोडिटी मार्केट भन्दै आफैले सञ्चालन गरेको सफ्टवयरमार्फत मेक्स नेपाल र यसका ब्रोकहरुले ठगी गरेकाे देखिन्छ।

एक कानुन व्यवसायीले हाम्राकुरासँग बोल्दै ५२ भन्दा बढी पीडितले यसरी ठगी मुद्दामा निवेदन लेखिसकेकाे बताएका छन्। प्रहरी परिसर टेकुका प्रवक्ताले समेत दजर्नाैं युवाले ठगीमा परेको भनेर उजुरी गरेको बताएका छन्।

हाम्राकुराले प्राप्त गरेको ठगीमा परेका १७ जना पीडितहरुले मात्रै ५० लाख भन्दा बढी ठगीएको बताएका छन्।

कम्तिमा १ लाखदेखि १५ लाखसम्म ठगीमा परेका २३ जना पीडितको विवरण हाम्राकुराले प्राप्त गरेको छ। यीसहित ५० जना भन्दा बढी करोड नाघ्ने पीडितहरुको विवरण स्रोतले आफुसँग रहेको दाबी गरेको छ।

एक वकिलका अनुसार यस मुद्दामा अहिलेसम्म ३ करोड बढी ठगी दाबी भएको र मेक्स र एचसीसीकाे ६० करोड रोक्का गरिएको छ।

पक्राउ र मुद्दा

केही दिनअघिमात्रै प्रहरीले मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)का प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रण, यसका प्रवक्ता, स्पेल इनभेष्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनिल श्रेष्ठ र उनकी पत्नी कञ्चन श्रेष्ठलाई पक्राउ गरिसकेको छ। प्रहरी परिसर टेकुले अहिले यस ठगी मुद्दामा अहिले अनुसन्धान गरिरहेको बताएको छ। 

अनुसन्धानपछि मुद्दा चल्ने, ठगीएकाहरुले आफ्नो ठगीएको रकम फिर्ता पाउने र ठगहरुलाई कारबाही हुने कानुन व्यवसायीकाे भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ