'यति ठूलो अवार्ड पाउँदा एकछिन त म आफैले विश्वास गर्न सकिन'
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
502
Shares
काठमाडौं। आँखाका क्षेत्रमा उल्लेख्य काम गरेका वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्ड पाउँदा आफैले विश्वास गर्न नसकेको बताएका छन् । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सुरुमा अवार्ड पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको डा रुइतको भनाइ थियो । “यति ठूलो अवार्ड पाउँदा एकछिन त म आफैले विश्वास गर्न सकेन । पछि राम्रो लाग्यो । अनि अवार्ड पाएको कुरा कसलाई भनूँ, कसलाई भनूँ भयो”, उनले भने ।
डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए । उनले अवार्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गरे ।
“आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दै आएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो”, डा रुइतले भने, “अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन् भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ । त्यसलाई बचाउन यसले ठूलो सहयोग गरेको छ ।”
अवार्डले संसारमा अन्धोपनका क्षेत्रमा नेपाली गरेको योगदानलाई स्थापित गरेको डा रुइतको भनाइ छ । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । छ व्यक्ति तथा संस्था छनोट चरणको अन्तिम सूचीमा परेका थिए ।
डा रुइतले नेपालमा अझ पनि पहुँच नपुगेको ठाउँमा आँखाको क्षेत्रमा काम गर्न प्रयास गरिरहेको बताए । उनले सबै मिलेर नेपालमा पहुँच नभएको ठाउँमा आँखाको सेवालाई विस्तार र सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गरे । “आँखाको लेन्स बनाएर अन्तर्राष्ट्रिय रूपमा निर्यात गर्नुपर्छ”, उनले भने ।
बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको राशि १० लाख डलर रहेको छ ।
डा रुइतले मोतीबिन्दु उपचार गर्ने सरल विधि (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) को विकास गरेका छन् । उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको बताइएको छ ।