टि–ट्वान्टी क्रिकेट : विराटनगर र लुम्बिनी फाइनलमा भिड्ने
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
844
Shares
फाइल तस्विर।
काठमाडौं। पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ।भोलि हुने फाइनल खेलमा विराटनगरले लुम्बिनी अल स्टारसँग खेल्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २८ रन मात्र बनाउन सक्यो ।
जनकपुरको लागि चाडविक वाल्टनले सर्वाधिक ५१ रनको योगदान दिए भने कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाए । तेस्तै खडक बोहोराले १४ रन बनाए ।
विराटनगरका राज नानन र कियोन जोसेफले समान तीन तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । तेस्तै सूर्य तामाङले १ विकेट लिए ।
त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्माले ४२ रन जोडे भने अर्जुन साउदले ३५ रन बनाए । तेस्तै राज नाननले ३३ तथा हुसेन तलतले ३१ रन बनाए ।
जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ, ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १÷१ विकेट लिए ।
भोलि हुने फाइनल खेलमा विराटनगरले लुम्बिनी अल स्टारसँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख पाउनेछ भने उपविजेताले रु ३० लाख पाउनेछ ।