काठमाडौं । छाउनीस्थित श्री महावीर योजना तथा समन्वय महाशाखामा आज नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास एक्स–टेक नेल २३–३०११’ को शुभारम्भ भएको छ ।
विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितीमा शुभारम्भ भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको छ ।
२०७९ माघ २० गतेसम्म संचालन हुने यस अभ्यासमा हाइ एंगल रेस्क्यु, कम्ब्याट सर्च एन्ड रेस्क्यु, एयर क्राफ्ट रेस्क्यु, हाइ अल्टिच्युड अल्पाइन रेस्क्यु र स्विफ्ट वाटर रेस्क्यु जस्ता विषयहरु समावेश छन् । छाउनी र नगरकोट ईलाकामा संचालन हुने उक्त अभ्यासको यो १२ औं संस्करण हो ।
यस किसिमको संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धि ज्ञान तथा क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।