नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
892
Shares
फाइल तस्विर।
काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी एक सय ३७ रनमा समेटियो । यस क्रममा जनकपुरले सात विकेट गुमाएको थियो ।
लुम्बिनीका लागि ब्याटिङ गर्ने क्रममा ईशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । यस्तै अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले १७ , लाहिरु मिलान्थाले १६ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले १० रन बनाए । बलिङतर्फ जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कार्मीले दुई-दुई तथा पवन सर्राफ र ट्राभोन ग्रिफिथले एक-एक विकेट लिए ।
यसैगरी एक सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि समिउल्लाह शिनवरीले सर्वाधिक ४५ रनको योगदान दिए । यस्तै पवन शर्राफले अविजित ३०, शारफुद्धिन असरफले २४, राजेश पुलामीले १३ र ट्राभोन ग्रिफिथले १० रन बनाए । बलिङतर्फ लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई-दुई तथा श्याड्ली भानले एक विकेट लिए । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।