arrow

सीकेले यादवलाई बनाए दलको नेता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
aaropi-ck-raut.jpeg

काठमाडौं ।  जनमत पार्टीले मधेस प्रदेशसभाको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ ।

पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकले दलको नेता छान्ने जिम्मा अध्यक्ष डा सीके राउतलाई दिने निर्णय गरेको थियो । संसदीय दलको बैठकले दिएको अधिकारलाई प्रयोग गर्दै अध्यक्ष डा राउतले प्रदेशसभाको संसदीय दलको नेतामा सप्तरी क्षेत्र नं २ प्रदेशसभा २ बाट निर्वाचित यादवलाई चयन गरेको पार्टीका सचिवालय सदस्य राजेश मण्डलले जानकारी दिए । यस्तै प्रदेशसभाको सचेतकमा चन्दन सिंहलाई चयन गरेको मण्डलले बताए ।

मधेस प्रदेशसभामा १३ सिटसहित ठूलो दल बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायतका नेताहरू आकांक्षी थिए ।

नेपाली कांग्रेसले निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णकुमार यादवलाई चयन गरिसकेको छ । 

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)सहित जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोसपालगायतका दलहरूले अझै संसदीय दलको नेता चयन गरेका छैनन् । प्रदेशसभामा विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व भएको छ । 

प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कुल एक सय सात सिट रहेको प्रदेशसभामा एमालेका २३, कांग्रेस २२, जनता समाजवादी पार्टी (जसपा) १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ, माओवादी केन्द्र आठ र नेकपा एकीकृत समाजवादीका सात सिट छन् । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक–एक सिट छ । प्रत्यक्षमा छ जना स्वतन्त्र उम्मेदवार पनि जितेका छन् ।

यसैबीच प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही पुस १८ दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ