arrow

श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन भारत, बंगलादेशको सुझाव [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
bri-nepal-srilanka-india-bangladesh-bri.jpg

काठमाडौं । भूराजनीति र दक्षिण एसियामा बीआरआई नामक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै श्रीलंकाका प्रतिनिधिले चिनियाँ विश्वव्यापी पूर्वाधार योजना बेल्ट एण्ड रोड इनिसिएटिभले आफ्नो देश आर्थिक संकटमा परेको स्वीकार गरेका छन् । यस्तै बंगलादेशी प्रतिनिधिलेसमेत बीआरआईको महँगो ऋण लगानी देशको अर्थव्यवस्थाका लागि खतरा हुन सक्ने बताएका छन् ।

गत शुक्रबार राजधानीमा आयोजित सेमिनारको प्यानल छलफलमा बोल्दै भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल स्टडिजका डिन र चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्लीले बीआरआईलाई लिएर नेपाल सजग रहनु पर्ने बताए ।

सीईएसआईएफका कार्यकारी अध्यक्ष एवं अनुसन्धान सल्लाहकार रहेका डेनमार्कका लागि नेपालका पूर्व राजदूत विजयकान्त कर्णले सञ्चालन गरेको छलफलमा भारतका प्रोफेसर श्रीकान्त कोन्डापल्लीसहित सीआईएफका अनुसन्धान निर्देशक अजयभद्र खनाल, श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का हरिम वाटसन पेइरिस, बंगलादेशको सेन्टर फर पोलिसी डाइलगका डा. टोफिकुल इस्लाम खान र भारतको साई नाथ विश्वविद्यालयका डा. देभेन्द्रकुमार वक्ता रहेका थिए ।

सो छलफलका क्रममा श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का हरिम वाटसन पेइरिसले बीआरआई अन्तर्गतको ऋण लगानीमा डेब्ट ट्र्यापको जोखिम रहेकोसमेत बताए । उनले श्रीलंकाको हम्बनटोटा बन्दरगाह चीनले ऋण लगानी गरेर ऋण तिर्न नसक्दा ९९ वर्षका लागि लिजमा लगेको उदाहरण दिए ।

यस्तै बंगलादेशको सेन्टर फर पोलिसी डाइलगका डा. टोफिकुल इस्लाम खानले आफ्नो देशमासमेत बीआरआई अन्तर्गतका परियोजनाहरुमाथि गम्भीर चिन्ता रहेको बताए । उनले चीनले दक्षिण एसियामा पाकिस्तानपछि धेरै लगानी बंगलादेशमा गरेको बताउँदै चिनियाँ लगानी परियोजनाहरुको मुनाफालाई महत्वपूर्ण रुपमा ध्यानमा राखेर मात्रै अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

ती परियोजनामा लगानीपछि तीनै परियोजनाले आम्दानी गरेर तोकिएको समयावधिमा ऋण चुक्ता गर्नसक्ने सामथ्र्य राख्छ या राख्दैन र त्यो परियोजनाको आर्थिक, सामाजिक, राजनीतिक, वित्तीय, वातावरणीय फाइदा कति हुन्छ भन्ने कुराहरुलाई विशेषरुपमा ध्यानमा राख्नु पर्ने डा. खानले बताएका छन् ।

सीआईएफका अनुसन्धान निर्देशक अजयभद्र खनालले बीआरआई अन्तर्गतका परियोजनाहरु नेपालका लागि डेब्ट ट्र्यापको जालो हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले विश्वव्यापी प्रभुत्व फैलाउन खोजिरहेको चीनका राष्ट्रपति सी चिनफिङको विचारधारामाथि नै खतराको शंका गरेका छन् । माओ त्से तुङपछि सी नै शक्तिशाली भएर विश्वभर आफ्नो प्रभुत्व फैलाउन खोजिरहेको उनको भनाइ छ।

यस्तै भारतको साई नाथ विश्वविद्यालयका डा. देभेन्द्र कुमारले पनि बीआरआई परियोजना र यसका सम्भावित खतराबारे चिन्ता व्यक्त गर्दै नेपाललाई सजग रहन आग्रह गरेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल स्टडिजका डिन र चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्लीले पनि नेपाललाई बीआरआई अन्तर्गतका परियोजनाहरु लागु गर्नुअघि अत्यधिक अध्ययन, सजगता र ऋणको ब्याजदर र तिर्ने अवधिमाथि छलफल गर्न सुझाव दिएका छन्।

बाँकी भिडियोमा:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ