arrow

गोल्डेन बुट मेस्सी कि एमबाप्पेलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
messi-ambape.jpg

काठमाडौं । कतारको अल बायात स्टेडियममा भएको खेलमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनलमा पुर्‍याएका छन् । खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्‍यो। यससँगै मोरक्कोको ऐतिहासिक यात्राको अन्त्य भएको छ ।

मोरक्को फिफा विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्नबाट वञ्चित भएको छ । फ्रान्स सन् १९९८ मा ब्राजिलपछि लगातार दुई पटक विश्वकपको फाइनलमा पुग्ने पहिलो डिफेन्डिङ च्याम्पियन बनेको छ । अब फ्रान्सले कतारको लुसेल स्टेडियममा १८ डिसेम्बर २०२२ मा फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ।

पछिल्लो पटक फ्रान्स र अर्जेन्टिना फिफा विश्वकप २०१८ मा भिडेका थिए । तब प्रि-क्वार्टरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । सो समय फ्रान्सले १३औं, ५७औँ, ६४औँ र ६८औँ मिनेटमा गोल गरेको थियो भने अर्जेन्टिनाले ४१औँ, ४८औँ र ९३ औँ मिनेटमा गोल गरेको थियो । फ्रान्स पछिल्लो तेस्रो पटक फाइनलमा पुगेको छ । फ्रान्सले विश्वकप १९९८ र २०१८ को फाइनल जितेको छ । 

थिओ हर्नान्डेजले ४ मिनेट ३९ सेकेन्डमा गरेको गोल सन् १९५८ पछि विश्वकपको सेमिफाइनलमा कुनै पनि टोलीले गरेको सबैभन्दा कम समयको गोल हो। सन् १९५८ मा ब्राजिलका लागि वावाले फ्रान्सविरुद्ध दुई मिनेटमै गोल गरेका थिए ।

फ्रान्सले १९९८, २००६, २०१८ र २०२२ का चार फिफा विश्वकप सेमिफाइनल खेलहरू ९० मिनेटभन्दा कम समयमा जितेको छ। यसअघि १९५८, १९८२ र १९८६ का तीन विश्वकप सेमिफाइनलमा असफल भएको छ ।

यता सेमिफाइनलमा क्रोएसियालाई हराएको अर्जेन्टिना फिफा विश्वकपमा छैटौँ पटक फाइनलमा पुगेको छ । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो ।  भने सन् १९७८ र १९८६ मा दुई पटक विश्वकप उपाधि जितेको छ ।

दोस्रो सेमिफाइनल खेलपछि गोल्डेन बुटको दाबेदारको सूचीमा कुनै परिवर्तन भएको छैन । तेस्रो स्थानको खेलमा अपसेट भएन भने सन् २००२ पछि गोल्डेन बुटको विजेताले फाइनल खेल्ने यो पहिलो पटक हुनेछ । सन् २००२ मा ब्राजिलका रोनाल्डोले गोल्डेन बुट जितेका थिए । तब उनले फाइनल खेलेर च्याम्पियन बनेका थिए ।

 गोल्डेन बुटका लागि लियोनल मेस्सी र केलियन एमबाप्पे ५ गोलसहित शीर्षस्थानमा छन् । ओलिवियर गिरौड र जुलियन अल्भारेजको ४- ४ गोल रहेको छ । गोल बराबर भए असिस्टको आधारमा फैसला हुनेछ । असिस्टको मामिलामा एमबाप्पे भन्दा मेस्सी अगाडि रहेका छन् । एमबाप्पेले अहिलेसम्म २ र मेस्सीले ३ असिस्ट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ