arrow

एनसेलले थाल्यो क्लाउड सेवाः सुरक्षा र गोपनियता प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
ncell-andy-chong-ceo-ncell.jpg

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सार्वजनिक गरेको आफ्नो प्रयोगकर्ताको डाटा खपत विवरण अनुसार सबैभन्दा बढी चलाइने इन्टरनेटको माध्यमका रुपमा युट्युब रहेको छ । 

एनसेलका प्रयोगकर्ताहरुले सबैभन्दा बढी ३५ प्रतिशत डाटा युट्युब हेर्नमा खर्च गरेको देखिएको हो । यस्तै दोस्रोमा २६ प्रतिशत डाटा एनसेलका प्रयोगकर्ताहरुले फेसबुक प्रयोगमा खर्च गर्ने गरेको र तेस्रो नम्बरमा १९ प्रतिशत डाटा टिकटकको प्रयोगमा खर्च गर्ने गरेको एनसेलको तथ्यांकले देखाएको छ ।

बाँकी डाटा अन्य विभिन्न इन्टरनेटका माध्यममा प्रयोगकर्ताले खर्च गर्छन् । प्रयोग दर कम बढी भए पनि नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायकहरुको तथ्यांकले पनि विभिन्न इन्टरनेटका सामग्रीको प्रयोगमा यस्तै ट्रेण्ड फलो गर्न सक्ने देखिन्छ ।

फाइभ जी परीक्षणका लागि अनुमति कुर्दै

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी चोङले एनसेलले नेपाल सरकारबाट फाइभ जी परीक्षणका लागि अनुमति पर्खिरहेको बताएका छन् ।

एनसेलले केही महिनाअघि नै फाइभ जी परीक्षणका लागि जाने प्रक्रिया अनुसार सञ्चार मन्त्रालय मातहतका निकायसँग अनुमतिका लागि प्रस्ताव पेश गरिसकेकाे छ ।

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लाई फाइभ जी परीक्षणको अनुमति मिले पनि सञ्चार मन्त्रालय अन्तर्गतबाट मलेसियन दूरसञ्चार कम्पनी एक्जिएटा अन्तर्गतको एनसेललाई फाइभजी परीक्षणका लागि अनुमति मिलेको छैन ।

उनले फाइभ जी सामान्य इन्टरनेटका प्रयोगकर्ताको हकमा धेरै आवश्यक नभए पनि उद्यमका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्ने र यसले अर्थतन्त्रमा योगदान गर्न सक्ने बताएका छन् ।

यस्तै उनले एनसेलले नेपालको कुल गार्हस्थ उत्पादनमा १.४ देखि १.५ प्रतिशत योगदान गरेकोसमेत बताए ।

इन्क्रिपटेड एसएमएस र फोन कल गोपनियता

यस्तै कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकारी विशालमणी उपाध्यायले एनसेलले क्लाउड सेवासमेत शुरु गरेको बताएका छन् । उनले एनसेलले सुरक्षा र गोपनियतालाई महत्वपूर्ण प्राथमिकतामा राखेको बताएका छन् ।

सुरक्षा र गोपनियतालाई नै ध्यानमा राखेर एनसेलले सीम कार्डबाट गरिने एसएमएस वा म्यासेजहरु पूर्णरुपमा इन्क्रिपटेड गरेको छ । इन्क्रिप्टेड गरिएका म्यासेजहरू पठाउने र पाउने बाहेक कुनै तेस्रो पक्षले यो म्यासेज पढ्न सक्दैनन् । कानूनी निकायले सो म्यासेज कुनै अनुसन्धानका लागि आवश्यक परेर माग गरेको अवस्थामा मात्रै डिक्रिप्ट गरेर सो म्यासेज थाहा पाउन सकिने उनले बताए ।

यस्तै कल डिटेल रेकर्ड (सीडीआर) को सुरक्षाको विषयसमेत एनसेलले विशेष रुपमा प्राथमिकतामा राखेको छ । कम्पनीले आफ्नै कर्मचारीले समेत फोन कल सम्बन्धी नाम र नम्बर जस्तो सामान्य जानकारी मात्रै हेर्न पाउने र बाँकी जानकारी गोप्य रहने बताएको छ ।

कुनै आधिकारीक अनुरोधमा हेर्नु परेको अवस्था बाहेक यसरी फोन कल डिटेल अवैध तरिकाले कसैले पनि हेर्न नपाउने र यसबारे प्रत्येक महिना अडिटसमेत हुने गरेको उनले बताएका छन् ।

यस्तै एनसेलले सीम कार्डको खरिदमा ९९ प्रतिशत कामहरु डिजिटल प्रणालीमार्फत अथवा एक दोस्रो व्यक्तिबीचको प्रत्यक्ष सम्पर्क बिना नै गर्ने गरेको छ ।

५० हजार नाघे भोल्टेका प्रयोगकर्ता 

कार्यक्रममा एनसेलको प्रविधि इकाइका प्रमुख विवेक पोख्रेलले विश्वभर झैं नेपालमा पनि भ्वाइसको प्रयोग घट्दो र डाटाको प्रयोग बढ्दो ट्रेण्डमा रहेको बताए ।

हाल इन्टरनेटका लागि ४ जी नेटवर्कमा डाटा प्रयोग गर्न सकिने भए पनि भ्वाइस कल हुँदा भने ४ जीबाट तल झरेर ३ जी या २ जीको माध्यमबाट फोन हुनेगर्छ । तर ४ जी अर्थात् एलटीईमै फोन गर्नका लागि गत सेप्टेम्बर १ देखि शुरु भएको भीओएलटीई अथवा भोल्टेका प्रयोगकर्ता ५० हजार नाघेको उनले बताए ।

एनसेलका इन्टरप्राइज सोलुसन म्यानेजर सुशील बिस्टले एनसेलले हालै मोबिलीटी र क्लाउड सेवा शुरु गरेको बताए । कम्पनीका इनटरप्राइ एवं होम प्रडक्ट म्यानेजर रञ्जन शर्माले एनसेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग मिलेर विभिन्न क्षेत्रमा काम गरिरहेको बताएका छन् ।

हाल एनसेललका देशभर काठमाडौं, पोखरा र हेटौंडामा गरेर तीन ठाउँमा डाटा सेन्टर रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ