arrow

सम्पादकीय

राहदानीको ठगी बन्द होस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
mrp.jpg.jpeg
तस्बिर – फाइल ।

राहदानी बनाउँदा पाएको दुःख र पैसाको बरबादीका घटना भइरहेको धेरै भयो । तर परराष्ट्र मन्त्रालयले यसलाई सहज गर्नुको सट्टा झनै झन्झट र दुःख दिने मनसाय राखेको पाइएको छ । अनलाइन फर्म भरेर टोकन लिएर मात्र राहदानी बनाउने प्रक्रियाको थालनी गर्दा नै दुःख र झन्झटको थालनी भइसकेको हुन्छ । 

गरिबी र चरम बेरोजगारीले ग्रस्त देश छोड्न राहदानी बनाउनका लागि विभागमा पुग्ने नेपालीहरुलाई त्यहाँ कार्यरत कर्मचारीले ठग्ने गरेको र प्रत्यक्ष नसकिए दलाल लगाएर भए पनि दोहन गर्ने गरिएको पाइएको छ । 

यसै त आर्थिक स्थिति कमजोर भएको व्यक्तिलाई राहदानी बनाउन आउनै मात्र पनि ऋणको जोहो गर्नु पर्ने हुन्छ । त्यसमाथि वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक पुग्दासम्म काठमाडौं आउने जाने खर्च, होटेलको खाने बस्ने खर्च, म्यानपावर कम्पनीबाट खुलेआम ठगिनु, तेस्रो मुलुकमा समेत रोजगारी भनेजस्तो नपाउनु, भने भन्दा जटिल काममा लगाइनु र काम नै नपाएर अलपत्र हुनुसम्मका दुःख त निश्चित नै छन् ।

 यसलाई निराकरण गर्नका लागि तात्नुके सट्टा झन् झन्झट दिएर फसाउने कार्य रोकिनु पर्छ । साइट नखुलेको र कुपन लिन नै नसकिएपछि दलालको सहारा लिनुपर्ने अवस्थालाई मूल्याङ्कन गर्दा कतै जानीजानी नै त साइटलाई चल्न नसक्ने बनाइएको त हैन भन्ने बुझ्न कठिन छैन । 

साइट एक दिन बिग्रेला, दुई दिन बिग्रेला तर हरेक दिन धेरै जनाले साइट खोले भन्दैमा ‘ह्याङ’ भएको भनेर बहानाबाजी गरिनु गलत छ । यदि यो प्रयोग असफल भएको हो भने सहज विकल्प अपनाइयोस् । 

वेबसाइटले ‘धेरै जनाले वेबसाइट खोलिरहेकाले थेग्ने भार छैन’ भन्दै नोटिफिकेसन देखाउनु र चोर बाटो अपनाउन बाध्य पारिनु नै दुःखद छ । सेवाग्राहीले त्रिपुरेश्वरमा राहदानी विभाग आसपासका फारम भर्नेहरु कहाँ जानुपर्छ या कुनै मान्छेको सम्पर्कबाट यसरी अनलाइन फारम भरिदिने मान्छे कहाँ पुग्नु अत्यन्त खेदजनक छ । 

त्यतिमात्र होइन वेबसाइटमा दिइएका फोन नम्बरहरुमा सम्पर्क गर्न खोज्दा कहिल्यै पनि सम्पर्क नहुनु झन् दुःखद छ । जनताको प्रत्यक्ष सरोकार भएको विषयलाई नजरअन्दाज गरी दोहनको बाटो नअपनाइयोस् । राहदानी बनाउन भइरहेको ठगी बन्द होस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ