arrow

उपेन्द्र यादवको विजोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अन्तिम समयमा नेकपा एमालेसँग सहकार्य गरेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको विजोग भएको छ । आफूलाई मधेस आन्दोलनको मसिहा मान्ने यादवलाई यसपटक ठूलो धक्का लागेको हो । 

सप्तरी २ मा यादवले ल्याएको भोट भन्दा दोब्बर बढी भोट जनमत पार्टीका अध्यक्ष सीके राउतले ल्याएका छन् । राउतलाई विजय घोषणा गर्न मात्र बाँकी छ । यो समाचार तयार गर्दासम्म राउतले २७ हजार ९ सय २७ भोट ल्याएका थिए तर यादवले १४ हजारर ८५ मात्र भोट ल्याएका छन् । राउतले शुरु देखि नै यादव भन्दा दोब्बर भोटले अगाडि छन् । 

६ वर्ष अगाडि सप्तरीको मलेठ घटनालाई बिर्सेर यादवले एमालेसँग सहकार्य गरेका थिए । ‘तर सप्तरी २ को मलेठ घटनालाई जनताले बिर्सेनन् । त्यसैले यसपटक उपेन्द्र यादवलाई सप्तरीबासीले स्वीकार गरेनन् । सप्तरीका मतदाता महेश यादव भन्छन्, ‘यो उहाँले गरेको गम्भीर भुल थियो ।’

६ वर्षअघि तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चा र एमालेबीच सोझो भिडन्त भएको थियो । जसमा ५ जना मधेसी मोर्चाका कार्यकर्ताको निधन भएको थियो भने ११ जना सख्त घाइते भएका थिए । 

तत्कालीन मधेसी मोर्चामा यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम पनि सहभागी थियो । त्यतिबेला एमालेको सबैभन्दा आलोचक यादव नै थिए ।

जहाँ मलेठ घटना भएको थियो, त्यही क्षेत्र हो, जहाँ यादवले यसपटक उम्मेदवारी दिएका थिए । 

सप्तरी २ मा प्रतिनिधि सभामा मात्र होइन प्रदेश सभामा पनि जसपाको विजोग भएको छ । सप्तरी २ का प्रदेश सभाका दुवै क्षेत्रमा जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् । 

यतिबेला यादवको मात्र विजोग भएको छैन, जसपाबाट उम्मेदवारी दिएका अन्य उम्मेदवारहरुको पनि विजोग भएको छ । 

यादवले चुनाव जित्न यादववाद अपनाएको भए पनि आफ्नो मात्र स्वार्थ हेर्ने भएकाले यादवहरुले नै सिध्याइदिए । 

यो समाचार तयार गर्दासम्म जसपाका उम्मेदवार ५ सिटमा मात्र अगाडि छन् । जबकि २०७४ को संसद्को अन्त्यतिर जसपासँग प्रतिनिधि सभामा १९ जना सांसद थिए । 

यसपटक जसपासँग आधा दर्जनको हाराहारीमा मात्र सांसद हुनेछन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम १० सिटमा विजयी भएको थियो । 

चुनाव लगत्तै तत्कालीन संघीय समाजवादी फोरम र तत्कालीन नयाँ शक्ति पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन गरिएको थियो । 

त्यतिबेला समाजवादी पार्टीसँग प्रतिनिधि सभामा समानुपातिकसहित १७ सांसद थिए । 

तत्कालिन राष्ट्रिय जनता पार्टी र तत्कालिन समाजवादी पार्टीबीच एकीकरण भइ जसपा गठन भएपछि जसपासँग प्रतिनिधि सभामा ३४ सांसद थिए । 

त्यसमा दुई जना सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका थिए । 

जसपा  विभाजन पछि उपेन्द्र यादको पार्टीमा रौनियार र चौधरी बाहेक १९ जना सांसद कायम भएका थिए । 

यसपटक जसपाले प्रतिनिधि सभामा मधेस प्रदेशमा मात्र १७ सिटमा उम्मेदवारी दिएको छ । 

तीमध्ये कम्तीमा १२ सिटमा विजयी हुने जसपाका नेताहरूले आँकलन गरेका थिए । तर आँकलन पूरा नहुने भएको छ । 

यादव पछिका दोश्रो नेता अशोक राई पनि यसपटक हार्ने भएका छन् । उनलाई एमालेले सहयोग गरेन । एमालेका कार्यकर्ताहरूले राइको लागि भोट मागेनन् । यो समाचार तयार गर्दासम्म सुनसरी १ मा राई धेरै पछि परेका छन् । 

जसपामा विवाद हुँदा अन्तिम सममयमा राईले यादवलाई साथ दिएका थिए ।

जसपाका अन्य केन्द्रीय नेता रामसहाय यादव, प्रमोद साह, सुरेन्द्र यादव, सूर्यनाराय यादव, रामबाबु यादव लगायतका नेताहरुले यसपटक पनि चुनाव जित्ने सम्भावना करिब करिब अन्त्य भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ