arrow

पर्सा १ का उम्मेदवार पूर्वमन्त्री प्रदीप यादवलाई जित निकाल्न मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
pradip-yadav-minister-jasapa.jpg
फाइल तस्बिर

काठमाडौँ। आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पर्सा १ बाट प्रतिनिधि सभा तर्फ जनता समाजवादीबाट उम्मेदवार बनेका प्रदीप यादवको हार निश्चित भएको छ। पर्सा-१ मा केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मुख्य प्रतिस्पर्धामा भए पनि अजय दुवेदीको उम्मेदवारीले चुनौती दिइरहेको छ। 

जसपाबाट निवर्तमान वन तथा वातावरण मन्त्री प्रदीप यादव र लोसपाबाट पनि पूर्वमन्त्री लक्ष्मणलाल कर्ण चुनावी प्रतिस्पर्धामा छन्। यादवलाई नेकपा एमालेले समर्थन गरेको भनिए पनि एमाले कार्यकर्ताहरूले भने यादवलाई मतदान नगर्ने जनाइसकेका छन्। एमालेको भरथेगमा जित्ने आङ्कलन गरेका प्रदीपलाई एमालेबाट नै धोका हुने भएपछि उनको हार निश्चित भएको हो। 

२०७४ को निर्वाचनमा विजयी भएका यादवले पाँच वर्षको अवधिमा जनताका लागि खासै उपलब्धिमूलक काम गर्न नसकेको आरोप उनीमाथि छ भने पर्सामा बलियो रूपमा देखिएका अजयको उम्मेदवारीले उनलाई सकस पारेको हो। 

नेपाली काँग्रेस पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका द्विवेदीले पार्टीको निर्देशन उल्लङ्घन गर्दै उम्मेदवारी दर्ता गरेपछि प्रदीपलाई सकस भएको हो। 

पर्सा १ मा अहिलेसम्म एउटै उम्मेदवारले लगातार दुई पटक जित हासिल गरेको रेकर्ड छैन।  स्थानीय तहको निर्वाचनको परिणामले पनि प्रदीपले गर्दा समस्या भएको हो। 

स्वतन्त्र उम्मेदवारी दिएका द्विवेदी ०६८ देखि ०७८ सम्म १० वर्ष नेपाली काँग्रेस पर्साको जिल्ला सभापति भइसकेका व्यक्ति हुन्। उनी पहिलो संविधानसभामा निर्वाचित सांसदसमेत थिए। दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित हुन पुगेका थिए। 

उनी वीरगन्ज महानगरपालिकाको उप–मेयरसमेत भइसकेका छन्। ०७४ मा द्विवेदीले नेपाली काँग्रेसको तर्फबाट मेयरमा उम्मेदवारीसमेत दिएका थिए। तर, तत्कालीन जसपा उम्मेदवार विजय सराबगीसँग पराजित भएका थिए।

पर्सा १ मा जसपा पहिलो शक्ति हो भने एमाले र काँग्रेसको करिब उत्तिकै मत छ। वीरगन्ज महानगरपालिकाको १९ वटा वडा रहेको पर्सा क्षेत्र नम्बर १ मा स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार ६ सय ७६ मत ल्याएको थियो। दोस्रोमा नेकपा एमालेले १३ हजार २ सय ३३  र तेस्रोमा नेपाली काँग्रेसले १२ हजार ९ सय ९३ मत पाएको थियो।

सो क्षेत्रमा माओवादी केन्द्रले ३ हजार ३ सय ७४, लोसपाले दुई हजार ८६ र एकीकृत समाजवादीले एक हजार ६ सय मत ल्याएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ