arrow

सीसीपीको २० औं महाधिवेशन सकियो: सी चिनफिङ तेस्रो कार्यकालमा, कयौं वरिष्ठ नेता अवकाशमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
china-ccp-congress.jpg

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन सकिएसँगै चिनियाँ सर्वोच्च नेता सी चिनफिङले आफ्नो अभूतपूर्व तेस्रो कार्यकालको शुरुआत गरेका छन् भने पार्टीका वरिष्ठ शीर्ष नेताहरुले भने अवकाश पाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का वरिष्ठ नेता ली केकियाङ र वाङ याङ लगायतले अवकाश लिएका हुन् ।

शनिबार कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन सकिएको लगत्तै राज्य सञ्चालित समाचार एजेन्सी सिन्ह्वाले पार्टीका ९ करोड ७० लाख सदस्यहरूको निरीक्षण गर्ने नयाँ केन्द्रीय समितिका सदस्यहरूको घोषणा गरेको छ ।

चीनको सर्वोच्च निर्णय गर्ने निकाय पोलिटब्युरो स्थायी समितिका चार सदस्यहरू यो सूचीबाट हराएका छन् । ६७ वर्षीय प्रिमियर ली केकियाङ, नेशनल पिपुल्स कांग्रेसका चेयरम्यान ७२ वर्षीय ली झान्शु, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष ६७ वर्षीय वाङ याङ र ६८ वर्षीय उप प्रिमियर हान झेङ केन्द्रीय समिति सदस्यमा छैनन् । यसको अर्थ यी शीर्ष चार नेताहरुले पूर्णरुपमा अवकाश लिएका हुन् ।

लगभग २०० पूर्ण सदस्य भएको केन्द्रीय समितिले पोलिटब्युरो स्थायी समितिको नेतृत्वमा रहेको २५ सदस्यीय पोलिटब्युरोलाई रिपोर्ट गर्छ। यो सूचीमा पर्न नसक्नु भनेको व्यक्तिले कुनै पनि महत्त्वपूर्ण राज्य वा सरकारी पद पाउने छैन ।

सीसीपीमा भएको यो हेरफेर सोचेभन्दा ठूलो छ । ली केकियाङ र वाङ याङ दुवै ६८ वर्षको प्रथागत अवकाश उमेरभन्दा एक वर्ष कममै अवकाश बसेका छन् ।

तर देङ सियाओपिङपछिको सबैभन्दा शक्तिशाली राजनीतिक नेताको रूपमा दृढताका साथ स्थापित सी चिनफिङले आफ्नो तेस्रो कार्यकालको शुरुआत महाधिवेशनसँगै गर्न थालेपछि उनले अर्को पाँच वर्ष र त्यसपछिका लागि समर्थन गर्न सक्ने युवा टोली निर्माण गर्न चाहेको देखिएको छ ।

चार जना दिग्गजहरूलाई सेवानिवृत्त गरेर सीले आफ्नो रोजाइका युवा नेताहरूको पदोन्नतिको लागि शीर्षमा थप सीटहरू खाली राखेका छन् ।

नयाँ केन्द्रीय समितिले तुरुन्तै सूचीलाई औपचारिक रूपमा अनुमोदन गर्न आइतबार पहिलो प्लेनम भनिने बैठक बस्नेछ ।

त्यसपछि सीले नयाँ पोलिटब्यूरो स्थायी समितिका सदस्यहरूको नेतृत्व गर्नेछन् । केन्द्रीय समितिको सूचीबाट वरिष्ठ कूटनीतिज्ञ याङ जिएची र उपप्रिमियर लिउ हे पनि बाहिरिएका छन् ।

तर, ६९ वर्षीय विदेशमन्त्री वाङ यीले भने नयाँ केन्द्रीय समितिका सदस्यहरूमध्येका एक रहेका छन् । उनले कंग्रेसपछि अवकाश लिने याङ जिएचीले छोडेको पोलिटब्यूरोको सिट लिन सक्ने ठानिएको छ ।

केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष झाङ युक्सिया ७२ वर्षको भए पनि केन्द्रीय समितिमा रहेका छन् । तर सिनजियाङ पार्टीका पूर्व प्रमुख ६६ वर्षीय चेन गुआनगुओ भने समितिमा छैनन् ।

शनिबारको घोषणाले आगामी पाँच वर्षका लागि सीसीपीको फेरबदललाई सार्वजनिक गरेको हो । यस साताको बैठकले पार्टी नेतृत्वको लागि क्रमबद्ध र पदानुक्रम निर्धारण गर्ने क्रममा व्यवस्थापिका सत्रले औपचारिक रूपमा प्रमुख राज्य र सरकारी पदका व्यक्तिहरुलाई सार्वजनिक गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ