arrow

पुटिनलाई युद्ध नगर्न सुझाउने मोदीको विश्वभर प्रशंसा

logo
एजेन्सी,
प्रकाशित २०७९ असोज ५ बुधबार
Modi-Putin-india-russia.jpg
फाइल तस्बिर

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भलादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध रोक्न सुझाएपछि उनको विश्वभर प्रशंसा भइरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अहिलेको समयमा युद्ध उचित नभएको’ प्रतिक्रिया जनाएर युद्ध रोक्ने आशयको सन्देश दिएपछि मोदीको विश्वभर प्रशंसा भइरहेको छ।

उज्बेकिस्तानको समर कन्दमा भएको सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकका क्रममा शुक्रवार पुटिनसँग भएको साइडलाइन वार्तामा मोदीले भने, 'अहिलेको समय युद्धको होइन, अहिलेको वैश्विक चिन्ता खाद्य सुरक्षा, इन्धन सुरक्षा र मलको विषय हो।’

भारतीय प्रधानमन्त्रीले ‘थ्री डी’ (डेमोक्रेसी, डिप्लोमेसी र डायलग) मार्फत शान्तिको बाटो अपनाउन रुसी राष्ट्रपतिलाई सुझाव दिएका हुन्।

सांघाई शिखर सम्मेलनका क्रममा भएको मोदी र पुटिन भेटवार्ता तथा त्यस क्रममा मोदीले दिएको सुझावको सर्वत्र चर्चा पाएको हो। अमेरिकी, रुसी सबैतिरका सञ्चारमाध्यमहरूले दुई नेताबीचको भेटमा मोदीले दिएको सुझावलाई प्राथमिकताका साथ समाचार बनाएका बिबिसीले जनाएको छ।

शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि उपस्थित थिए। सी र पुटिनबीच पनि भेटवार्ता भएको थियो। त्यहाँ पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफदेखि मध्य एसियाली देश कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र बैठक आयोजक उज्बेकिस्तानका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी थिए। तर, चर्चा भने मोदीको भयो। 

चिनियाँ राष्ट्रपति सी र पाकिस्तानी प्रधानमन्त्री सरिफसँग भने मोदीको छुट्टै भेटवार्ता भने भएन। दुवै देशसँग भारतको सीमाका विषयमा तनाव रहँदै आएको छ।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणले ७ महिना पुग्नै लागिसकेको भए पनि दुवै देशबीच युद्ध जारी छ। अमेरिकासहित पश्चिमा शक्तिशाली देशहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा मात्रै गरेका छैनन्, रुसमाथि धरै खाले प्रतिबन्धहरू लगाएका छन्। पश्चिमा देशहरूको दबाबसामु पनि भारतले रुससँगको आफ्नो सम्बन्ध यथावत् राखेको छ। युद्धको दौरान पनि भारतले रुससँग सस्तो मूल्यमा इन्धन खरिद गर्दै आएको छ।

पुटिनले आफू हतारमा नरहेको र युक्रेनको डोन्बास क्षेत्रमा आक्रमण जारी रहने बताएका छन्। युक्रेन युद्धमा रुसले हालसम्म आफ्नो पूर्ण सैन्य शक्ति नखटाएको पुटिनको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ