arrow

बन्दीपुरमा निर्माण हुँदै ‘मिनी ग्रेटवाल’

logo
रासस
प्रकाशित २०७९ असोज ४ मंगलबार
Bandipur-.jpg

तनहुँ । बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको छ । 

चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म रु ७४ लाख खर्च भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।

बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरी थालिएको मिनी ग्रेटवाल पर्यटकको पहिलो आर्कषण बन्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । 

प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको ‘मिनी ग्रेटवाल’ निर्माण गर्न लागिएको हो ।

कूल लागत रु सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरुप निर्माण कार्य अघि बढाइएको उनले बताए । नेपाल सरकारको रु चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ । 

उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायत संरचना निर्माण गर्ने योजना छ । दुईतिर वाल लगाउने र बीचमा आर्कषक सिँढी निर्माण गरी दायाँबायाँ आर्कषण बत्ती जडान गर्ने योजना रहेको छ ।

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ । 

काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । 

कोभिड-१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृंखला, पहाड र टाकुरा हेर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ