जनकपुर पुगेर कांग्रेस पूर्व उपसभापतिसहित जसपा-लोसपाका नेता भित्राए ओलीले
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
3.2k
Shares
जनकपुरधाम। जनकपुरधाम पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पूर्व उपसभापतिसहित जसपा, लोसपाका नेता एमालेमा भित्राएका छन् । सोमबार जनकपुरमा बृहत् आमसभाको आयोजना गरि उनीहरूलाई पार्टी प्रवेश गराइएको हो ।
पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादव, जसपाका प्रतिनिधिसभा सांसद रुहिना खातुन, जसपाकी प्रदेशसभा सदस्य अञ्जु कुमारी यादव रहेका छन् । साथै पूर्व राज्यमन्त्री तथा लोसपाका नेता अरविन्द साह, कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि विजेता झा सहितका कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेश गराउँदै ओलीले आगामी असोज ८ गते धनुषाको क्षेत्र नम्बर २ मा हजारौँ हजार नेता कार्यकर्ताको प्रवेशमा पुनः आउने बताए ।
कांग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सन्तोष यादवले कांग्रेसमा वडादेखि सबै सिट बिक्री हुने गरेको आरोप लगाए । जनआन्दोलनदेखि कांग्रेसमा दिएको योगदानबारे उल्लेख गर्दै उनले भने, “पैसामा वडादेखि नै पार्टीको टिकट बिक्री हुने गरेको छ ।”
उनी कांग्रेसको १४औं महाधिवेशनमा धनुषा सभापति पदमा दोस्रो राउन्डमा पराजित भएका थिए । त्यसअघि जिल्ला सचिव हुँदै उपसभापतिसम्म भएका थिए ।