arrow

आबेको अन्त्येष्टिमा सहभागी हुन मोदी जापान जाँदै

logo
एएनआई,
प्रकाशित २०७९ भदौ ९ बिहिबार
narendra-modi1.jpg

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । 

भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ । जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ । 

टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ । 

जापान यस क्षेत्रमा भारतको एक प्रमुख सहयोगी हो, दुबै देशले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाको साथ व्यापक साझेदारीको ‘क्वाड ढाँचा’मा सहकार्य गरिरहेका छन् । मोदी र आबेबीच प्रधानमन्त्री रहँदा र पछि पनि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको थियो । 

सन् २०१८ मा प्रधानमन्त्री मोदीको जापानको औपचारिक भ्रमणका क्रममा आबेले आफ्ना भारतीय समकक्षीलाई यामानाशी प्रान्तस्थित आफ्नो पारिवारिक घरमा भेटेका थिए  । 

गत मे महिनामा क्वाड शिखर सम्मेलनमा भाग लिन जापान गएका भारतीय प्रधानमन्त्री मोदीले आबेले राजीनामा दिएको करिब दुई वर्षपछि त्यहाँ भेटेवार्ता गरेका थिए । 

जापानी भूतपूर्व प्रधानमन्त्री आबेमाथि जुलाई ८ मा नारा शहरमा चुनावी भाषणका क्रममा आक्रमण भएको थियो । प्रहरीका अनुसार पछाडिबाट गोली लागे लगत्तै उनी होश रहेपनि उपचारका लागि स्थानान्तरणका क्रममा उनको अवस्था गम्भीर बन्दै गएको थियो । त्यही दिन स्थानीय अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । 

आबेको हत्यापछि भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो ।  सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुनेछ । 

यस पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ