arrow

प्रदीप दाइ र म

logo
सरिता गिरी, 
प्रकाशित २०७९ भदौ ५ आइतबार
Sarita-Giri.jpg
तस्बिर– फाइल

आज म प्रदीप दाइको बारेमा यस्तो कुरा लेख्न गइरहेकी छु जुन नियतिले निर्धारित गरेको हो । उहाँहाँलाई माया गर्ने धेरै जना छन् । उहाँप्रति सबैको प्रेमभावप्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखिन भने शायद कहिले पनि लेख्न सक्दिन होला ।

उनको कान्छो भाइ लक्ष्मण गिरी र प्रदीप दाइबीच अचम्मको प्रेम थियो । त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो । हामी तीनै जनासँगै भएको बेला म यो भन्दै जिस्काउँथिएँ पनि कि इंजिनियर साहेब आपके भाइ से भी ज्यादा आपके कार्यकर्ता जैसे हैं । दुई जनाबीचको असीम प्रेमको एक कडी म पनि थिएँ ।  
 
प्रदीप दाइसँग मेरो भेट पटनामा भएको थियो । भर्खर क्लास ११ को जाँच दिएकी थिएँ । मेरी काकी नेपाल हुनुहुन्छ र निर्वासनको समयमा उहाँहरु पटना गइराख्नुहुन्थ्यो । त्यस्तै एउटा भ्रमणको दौरानमा पटनामा तीन चार जना नेपाली मेरी काकीको कोठामा बस्नु भएको थियो । 

म बाहिर थिएँ र मलाई बोलाइयो । म कोठामा पसी एक कुनामा बसी हालें । उहाँले एक पछि अर्को प्रश्न गर्न थाल्नुभयो, हिंदीमा । मैले सकेसम्म एउटा राम्रो विद्यार्थी जस्तो जबाफ दिँदै गएँ । 

त्यसपछि केही बेर चुप लाग्नुभयो । एक्कासी हाँस्दै भन्नुभयो –मेरी अभी शादी नहीं हुई है, चलो तुम मेरे साथ भाग चलो । 

कस्तो कस्तो लाग्यो । म त्यस बेला मात्र १६ वर्षकी थिएँ । यो मजाक हो कि केहो जस्तो पनि लाग्यो । चुपचाप कोठाबाट बाहिर निस्केँ । यस घटनाको लगभग दुई वर्षपछि मेरो लक्ष्मण गिरीसँग मागी विवाह भएको हो ।  

विवाह गरी पछि बस्तीपुर आएपछि परिवारका सदस्यहरुबारे बुझ्दा विस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरीका दाजु हुन् । पछि मैले थाहा पाएँ प्रदीप गिरी त्यही व्यक्ति हुन् जसलाई  मैले पटनामा भेटेकी थिएँ । 

उहाँ विवाहमा शरीक हुनु भएको थिएन । पछि भन्नुभयो –जब पता चला कि मेरे ही भाइ से तुम्हारी शादी हो रही है तो कुछ अजीब सा लगा और मैं शादी में नहीं आया ।

प्रदीप दाइसँगको थोड बहुत संगतमा उहाँको विद्वतासँग प्रभावित नहुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले उहाँसँग सिक्ने अवसर पाइन । तर टाढा भए पनि राजनीतिमा उहाँ मेरो प्रेरणाको श्रोत जहिले पनि रहनु भयो । उहाँको प्रभावमा  म आध्यात्मिकतालाई पनि बुझें । प्रेमको आध्यात्मिक स्वरुप के हुन्छ, मैले उहाँको संगतमा बुझें ।  

जीवनमा जस्तोसुकै कठोर मोडमा उहाँको र उहाँको भाइ लक्ष्मण गिरीको प्रेम र संरक्षण पाउने भाग्यमानी मध्येकी एक म पनि हुँ । मेरो जीवनमा पिता बाहेक  प्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरी र प्रदीप गिरी हुन् । आज तीनै जना यस संसारमा हुनुहुन्न ।  

तीनै जनाप्रति असीम श्रद्धा र प्रेम व्यक्त गर्दछु । (पूर्वमन्त्री गिरी प्रदीप गिरीकी बुहारी हुन्  । यो विचार उनको फेसबुकबाट लिइएको हो । भाषा सम्पादनमात्र गरिएको छ । ) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ