काठमाडौं । रुस, भारत, बेलारुस र ताजिकिस्तान लगायतका देशहरूसँगको संयुक्त सैन्य अभ्यासमा भाग लिन चिनियाँ सेना रुस जाने त्यहाँको रक्षा मन्त्रालयले बुधबार जनाएको छ।
चिनियाँ रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, संयुक्त अभ्यासमा चीनको सहभागिता 'वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिसँग सम्बन्धित छैन ।'
यो अभ्यास चलिरहेको द्विपक्षीय वार्षिक सहयोग सम्झौताको एक हिस्साका रुपमा रहेको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ। हालैका वर्षहरूमा चीनको संलग्नतामा रूसको नेतृत्वमा यस्तै संयुक्त अभ्यासहरू हुँदै आएका छन् ।
विज्ञप्तिमा अघि भनिएको छ, यसको 'उद्देश्य सहभागी देशका सेनाहरूसँग व्यावहारिक र मैत्रीपूर्ण सहयोगलाई गहिरो बनाउनु, सहभागी पक्षहरूबीच रणनीतिक सहयोगको स्तर बढाउनु र विभिन्न सुरक्षा खतराहरूको जवाफ दिने क्षमतालाई सुदृढ पार्नु हो ।'