arrow

बालबालिकालाई प्रभावकारी सिकाइ कसरी गर्ने ?

logo
पुष्पा रिजाल,
प्रकाशित २०७३ भदौ १५ बुधबार
puspa-rijal.jpeg
विद्यालय भनेको सरस्वतीको मन्दिर हो । ज्ञानको ऊर्जा र हौसला प्राप्त गर्ने ठाउँ । अझ भनौं, सिकारुले आफैं उत्प्रेरित भएर सिक्न सक्ने वातावरण भएको स्थान । तर अचेल विद्यालय (अझ चलन चल्तीको शब्द ‘स्कुल’ भन्ने बितिकै बालबालिकालाई अभिभावकले निश्चित समयमा जबर्जस्ति पुर्याइदिने, कोठामा थुनेर दिनभर लेख्न र पढ्न लगाउने अनि घरका लागि जतिसक्दो धेरै गृहकार्य दिएर पठाउने ठाउँ भन्ने नै धेरैले बुझ्छन । 
 
अनि स्कुल कै कारणले बालबालिकाले घर पुग्ना साथ त्यही गृहकार्य लेख्न बस्नु पर्ने, लेखेन भने अभिभावकले कुटिकुटी लेख्न लगाउने, लेखेर भ्याएन भने भोलिपल्ट स्कूल पुगेपछि एक्लै राखेर शिक्षकले फेरी त्यसै गृहकार्य गरिसक्न बाध्य पार्ने अनि मात्र अरु विद्यार्थीसँग राख्ने पुरानो चलन अभैm धेरैजसो स्कूलमा देख्नपाइन्छ । यसले गर्दा धेरैजसो बालबालिकाले स्कुललाई नकारात्मक रुपमा लिन्छन् । खुशी भएर होइन कि बाध्य भएर जान्छन् र अभिभावकको खुशीका लागि पढिदिन्छन् ।
 
समयले धेरै फड्को मारी सक्दा पनि स्कूलमा पढाउने शैलीमा भने परिवर्तन आउन सकेन । स्कूलका बोर्डहरु हेर्यो भने नामका पछाडि हिजोआज इन्टरनेसनल स्कूल, त्यस्तैगरी मन्टेस्वरी भनेर पनि बोर्डमा लेखेको पाइन्छ । तर त्यहाँभित्र पसेर हेर्दा शिक्षकहरु किताब बोकेर हुबहु पढाइरहेका हुन्छन् अथवा बोर्डमा लेखेर विद्यार्थीलाई पराम्परागत ढंगले जस्ताको तस्तै सार्न वा घोक्न लगाई रहेका हुन्छन् । कितावमा भएको जस्ताको तस्तै लेख्दा वा घोक्दा बालबालिकामा कुनै विकाश हुन पाउँदैन । बरु केहि कुरा पढाएर अर्का त्यस्तै सोचेर लेख भन्ने वा कुनै प्रश्न दिएर यसको उत्तर के हुन्छ सोच भन्ने खालका सिर्जनात्मक पढाई गर्ने हो भने त्यसले बालबालिकालाई केही फाइदा पुर्याउन सक्छ ।
 
के पढाउने स्कूलमा ?
बालमनोबिज्ञानलाई ख्याल नगरी साथै तालिम र ज्ञानको अभावमा गलत तरिका प्रयोग भैरहेको छ स्कूलहरुमा । बालमनोवैज्ञानिकहरुका भनाइलाई अध्ययन गर्यो भने बालबालिकाको दुईदेखि दश बर्ष बीचको समय बाँकी जीवनका लागि जग बसाल्ने बेला हो । यसो हो भने हामीले बालबालिकाको जग निर्धारण गर्न के सिकाउनु पर्ला त  ? जग बसाल्नु भनेको बालबालिकामा भावनात्मक विकास, शारीरिक विकास, मानसिक विकास, नैतिक विकास गर्नु पर्ने हो । विकासहरु सही समयमा हुन पाएन भने उनीहरु जीवनमा सच्चा मानव बन्न ग्राह्रो हुन्छ । उदाहरणका लागि बालबालिकामा नैतिक विकास भएको छैन भने उनीहरुमा अरुप्रति इमान्दार हुनुपर्छ भन्ने भावनाको विकास हुदैन र एक सभ्य समाजका लागि सेवा पुर्याउने मानव विकासमा कमी हुन जान्छ ।
 
परम्परागत शैलीको पढाइले एकातिर बालबालिकालाई स्कूल प्रति हतोत्साहित पार्दछ भने अर्कातिर त्यस्ता स्कूलले बालबिकासमा कत्ति पनि सघाउ पुर्याउँदैन । त्यकारण आजको अवस्थामा आएर पनि हामी कसले कति नम्बर ल्यायो  ? कति प्रतिशत ल्यायो भन्दै नम्बरको पछाडि लागिरहन्छौं । यस्तो परम्परागत पढाइले शिक्षामा प्रगति हुन सक्दैन । तसर्थ, पढाउने शैली मात्र भिन्न भएर पुग्दैन, पढाइको मूल्याङ्कन गर्ने तरिकामा समेत परिवर्तन आउनु पर्छ । जस्तै  बालबालिकाको स्वभाव कस्तो छ  ? साथीसंग घुलमिल भएर बस्न सक्छ कि सक्दैन, नयाँ वातावरणले उसलाई कति सहज वा असहज बनाएको छ  ? उसको आत्मबल कस्तो छ, आफ्नो कामप्रति कति जिम्मेवार छ, साथीहरुसँग समूहमा कुनै काम गर्दा आफ्नो पालो नआउन्जेल धैर्यगर्न सक्छकि सक्दैन भन्ने जस्ता कुराका आधारमा उनीहरुको मूल्याङ्कन गरिनु पर्दछ । 
 
एउटा आदर्श विद्यालय भनेको त्यो हो, जसको वातावरणमा बालबालिका रमाउन सक्नुपर्छ । उनीहरु आफूलाई लागेका कुनै कुरा निर्धक्क बोल्न सक्ने वातावरण हुनु पर्दछ । त्यहाँ बालमनोविज्ञान अनुरुप पर्याप्त शैक्षिक सामग्रीहरु हुनु पर्दछ । तब मात्र बाल विकास संभव छ । यदि बालबालिका स्कूलमा रमाउन सक्दैनन्, स्कूल जानेबेलामा अँध्यारो मुख लगाउँछन्, रुन्छन्, नजानका लागि बहाना गर्छन् भने त्यसको दोषी बालबालिका होइनन्, शिक्षक वा स्कूल हुन् । विद्यालयमा बालबालिका मैत्री बातावरण बनाउने काम विद्यालय सञ्चालकहरुको हो, त्यहाँ कार्यरत शिक्षकहरुको हो, स–साना नानीहरुको होइन । 
 
मूल कुरा त पाठ्यक्रम बनाउने मानिसहरुले नै बालमनोविज्ञान पढेको र राम्ररी बुझेको हुनुपर्छ । यसरी बनाइएको पाठ्यक्रमलाई शिक्षकहरुलाई राम्ररी बुझाउनु पर्दछ । त्यसका लागि लामो छोटो अवधिको तालिमहरु दिन सकिन्छ । त्यसपछि हरेक गतिविधिका लागि शिक्षकहरुले शैक्षिक सामग्री र कक्षागत गतिविधिहरु तयार पार्छन् । कुन विषयवस्तु कसरी सिकाउने भनी योजना बनाउँछन् । यसरी सरोकारवाला सबै पक्षले पर्याप्त गृहकार्य गर्ने हो भने बनाउने हो शिक्षण प्रक्रियालाई बालबालिका अनुकूल र प्रभावकारी बनाउन सकिन्छ । 
 
शिक्षा केका लागि कहिले कसरी सुरुवात भयो भनेर खोतल्दा गुरुकुल विकास क्रमलाई हेर्नुपर्ने हुन्छ । त्यसबेला आफ्ना शिष्यलाई उनीहरुका जीवनमा आइपर्ने समस्याका लागि जीवनोपयोगी शिक्षा दिने भनेर सुरुवात गरेको पाइन्छ । तर आजको अवस्थामा आइपूग्दा हाम्रो समाजमा स्कूलहरुले कस्ले पहिले धेरै कुरा लेख्न र पढ्न सिकाउने भन्ने खालको अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएर घोकाउने वा लेखाउनेमा मात्र सीमित हुदै गएको छ ।यस्तो शिक्षण प्रक्रिया निश्चय नै गलत छ किनभने यसले निर्धारित शैक्षिक उद्देश्यहरु हासिल गर्न सघाउँदैन । नर्सरी कक्षाबाटै लेखाउन हतारो गरियो भने जीवनोपयोगी शिक्षा दिने समय कहिलेत? सिक्ने र वास्तविक जीवनकालागि आवश्यक पर्ने बिकास गर्ने समय त्यत्तिकै गुज्रेर जान्छ र बालमस्तिष्क चौतर्फी विकास हुन पाउदैन । परिणाम स्वरुप सही अर्थमा जिम्मेवार नागरिक बनाउन बाधा पुग्छ । यो समाज र राष्ट्रको विकासका अहिले भइरहेको परम्परागत (घोकाउने वा सार्न मात्रै लगाउने किसिमको) शिक्षण प्रणाली लागि हानिकारक छ । 
 
बलबालिका खेल्न मनपराउछन् र खेलले बालबालिकाको धेरै खालका विकास हुन्छ । जस्तैः नियम पालना गर्ने, समाजमा धेरैजनासँग मिलेर बस्ने, अरुलाई पालो दिने, आफ्नो पालोका लागि धैर्य गर्ने, अरुको जीतमा पनि खुशी हुने,अरुले जीतेपनि अर्कोपल्ट आफ्न ले जित्नसक्छु भनेर धैर्यता अपनाउने, छिटो निर्णय गर्ने,खुशीरहने,कृयाशील भैरहने जस्ता सर्वाङ्किण विकासका महत्वपूर्ण विकाश खेलबाटै हुने हुनाले स्कूलले घरभित्र र घरबाहिर खेलखेल्ने समय दैनिक आफ्नो कार्यतालिकामा राख्नु आवश्यक छ ।
 
करिब १५० वर्षअघि अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोराले स्कूलबाट यी कुरा सिकोस् भनेर शिक्षकलाई एउटा चिठी लेखेका थिए । त्यसमा निम्न बुँदाहरु उल्लेख थिए (क) सबै मानिससंग शिष्ट र सभ्य शैलिमा वोल्न तथा व्यवहार गर्नुपर्छ भन्नेकुरा सिकोस्, (ख) कहिल्यै कसैसित रिसाउनु हुदैन भन्ने सिकोस्, (ग) मानिस जातले होइन ज्ञानले मात्र ठूलो हुन्छ भन्ने सिकोस्, (घ) अरुलाई आदर र माया गर्नु पर्छ भन्ने सिकोस् । 
 
बलबालिका घरमा भन्दा धेरै समय स्कूलमा बिताउँछन् । त्यसकारण सबैखाले ज्ञान स्कूलले दिन आवश्यक छ । यसरी हरेक विद्यार्थीको जीवन कस्तो बन्नु पर्दछ भन्ने कुराका लागि स्कूल र अभिभावक दुवै सचेत रहनु जरुरी छ । नत्र विद्यार्थीको भविष्य सकारात्मक नै होला भन्न सकिन्न । 
(लेखक रिजाल सिटी मन्टेस्वरी स्कुल, अनामनगर, काठमाडौमा 
 प्रिन्सिपल हुनुहुन्छ । )
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ