arrow

कुसंस्कार सरकारी नीतिः एघार महिना सुत्ने, एक महिना उठ्ने प्रवृत्ति

logo
नारायण वली,
प्रकाशित २०७९ साउन १ आइतबार
kosh niyantrak office.jpg

रुपन्देही । देशकै दोस्रो ठूलो भन्सार वेलहिया, अहिले नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विश्व शान्तिको केन्द्र लुम्बिनी लगायत प्राचीन एवं भौतिक रुपले सबल मानिने रुपन्देहीमा आर्थिक वर्ष २०७८–०७९ मा विनियोजित पुँजीगत तर्फको बजेटमध्ये आधा बजेट फ्रिज हुन पुगेको खवरले विकास योजनाका विषयहरुलाई निराशा बनाउने देखिन्छ ।

रुपन्देही भौतिक, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग र सवारी लगायतका अन्य सुविधाले सम्पन्न मानिन्छ । मुलुककै आर्थिक केन्द्रको रुपमा अगाडि बढाउने स्थानीय तह र प्रदेश सरकारको सपना नभएको होइन । तर विडम्वना यही रुपन्देही जिल्लामा पुँजीगततर्फ विनियोजित बजेटमध्ये आधा भन्दा बढी बजेट फ्रिज भएको पाइएको छ । शनिबारसम्म असार महिनाको अन्त्यसम्म पनि विनियोजित रकम खर्च गर्न नसक्ने धेरै सरकारी कार्यालयहरु रहेको तथ्य छ ।

गत आर्थिक वर्ष २०७८–०७९ मा रुपन्देहीमा रहेका संघीय कार्यालयहरुमा असार ३० गतेसम्म कुल विनियोजित बजेटको ८६.५२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले जनाएको छ । लेखा नियन्त्रक कार्यालयका अनुसार रुपन्देहीमा ४३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३७ अर्ब ६८ करोड ४० लाख २२ हजार रुपैयाँ मात्रै खर्च भएको उल्लेख छ ।

गत वर्ष कुल बजेटमध्ये चालुतर्फ ३४ अर्ब १२ करोड ५८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको थियो । जसको ९७.९४ प्रतिशत अर्थात् ३३ अर्ब ४२ करोड ४१ लाख ७९ हजार रुपैयाँ खर्च भएको बताइएको छ । यसैगरी पुँजीगत चालुतर्फ करिब १ चौथाई अर्थात् ९ अर्ब ४२ करोड ७८ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा असार ३० गतेसम्मको तथ्याङ्क अनुसार ४ अर्ब २५ करोड ९८ लाख ४३ लाख अर्थात् ४५.१८ प्रतिशत मात्रै खर्च भएको पाइएको छ ।

चालुतर्फ करिब एक चौथाइमात्रै पुँजीगत बजेटमा छुट्टयाएकोमा बजेट आधा पनि खर्च गर्न नसक्दा जिल्लामा विकास निर्माणका कामहरु सन्तोषजनक रुपमा सफल नभएको र प्रभावित बनेको बुझिएको स्थानीय सरोकारवालाहरुले बताएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले दिएको तथ्यांकअनुसार ठूला कारोबार हुने संघीय कार्यालयहरुको पुँजीगततर्फको खर्च बिडम्वनापूर्ण रहेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनालाई पुँजीगततर्फ २ करोड ४२ लाख ५१ हजार रुपैयाँ बजेट छुट्टयाइएकोमा सो योजनाले असार मसान्तसम्म ३० हजार ९ सय रुपैयाँ मात्रै खर्च गरेको बताइएको छ ।

यता, सडक डिभिजन कार्यालय बुटवललाई चालु आर्थिक वर्षमा पुँजीगततर्फ ३ अर्ब ९६ करोड ६३ लाख ७१ हजार बजेट विनियोजन गरिएकोमा उक्त कार्यालयले असार मसान्तसम्म ९७ करोड ९५ आख ३८ हजार ७ सय ६० रुपैयाँ खर्च गरेको छ । सडक डिभिजन कार्यालय बुटवलले असारमा मात्रै ४५ करोड ५३ लाख ९९ हजार २ सय २९ रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।

भैरहवा–लुम्बिनी भूमिगत जल सिंचाई ब्यवस्थापन डिभिजन कार्यालयले २७ करोड ९५ लाख बजेट पाएकोमा वर्षमा १९ लाख ६८ हजार रकम खर्च गरेको थियो भने असार महिनामा मात्रै १३ करोड भन्दा बढी बजेट खर्च गरेको छ ।

स्रोतका अनुसार  पुँजीगत खर्चतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पनि वर्षभरी खर्च गरेको रकमको आधा रकम असार महिनामै खर्च गरेकाे पाइएको छ । अख्तियारलाई ४ करोड ५० लाख ४० हजार बजेट विनियोजन गरिएकोमा असारसम्म १ करोड ६३ लाख खर्च गरेको छ । यसमध्ये पनि ८६ लाख ९९ हजार अख्तियारले असार महिनामा मात्रै खर्च गरेको  पाइएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले पुँजीगततर्फ असार महिनासम्म खर्च भएको रकम ४ अर्ब २५ करोड ९८ लाख ४३ हजार रुपैयाँमध्ये १ अर्ब ९० करोड १२ लाख ३३ हजार रुपैयाँ असार महिनामा मात्रै खर्च गरेको बताए । अर्थात् वर्षभरि खर्च भएको रकमको ४४.६३ प्रतिशत रकम असार महिनामा खर्च गरेको छ ।

गत वर्षमा कसले कति उठायो राजस्व ?
कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले जिल्लाका संघीय कार्यालय, प्रदेश मन्त्रालय र जिल्लाका स्थानीय तहहरुलाई निकासा दिने गरेको छ ।

प्रदेशसमेत गरी ४३ अर्ब ५५ करोड बजेट पाएको रुपन्देहीले भने जिल्लाबाट १ खर्ब ४२ अर्ब ५१ करोड १३ लाख ९६ हजार रुपैयाँ राजस्व उठाएको जनाइएको छ । कार्यालयका प्रमुख ज्ञवालीका अनुसार कुल राजस्वको झण्डै १५ प्रतिशत योगदान रुपन्देहीबाट हुने गरेको  छ ।

यसैगरी चालु आर्थिक वर्षमा असार ३० गतेसम्म सबैभन्दा बढी राजस्व उठाउनेमा भैरहवा भन्सार कार्यालयले उठाएको छ । भन्सार कार्यालयले १ खर्ब १५ अर्ब १९ करोड ९७ लाख ६६ हजार ४ सय ९३ रुपैयाँ राजस्व असुली गरी केन्द्रमा पठाएको जनाएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्ब ५५ करोड ९६ लाख ५६ हजार ८ सय ५२ रुपैयाँ, आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ६८ करोड ४२ लाख ४ हजार ६६ रुपैयाँ राजस्व असुली गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत ३ अर्ब ४२ करोड ८५ लाख ७२ हजार ५ सय ५८ रुपैयाँ राजस्व असुली भएको छ । यस्तै जिल्ला ट्राफिक कार्यालय भैरहवाले चालु आर्थिक बर्षमा ६ करोड ८६ लाख ७२ हजार रुपैयाँ राजस्व बुझाएको प्रमुख कोष नियन्त्रक ज्ञवालीले बताए ।

रुपन्देही जिल्लामा १ सय ३४ वटा सरकारी कार्यालयहरुलाई कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले बजेट निकासा दिने गरेको छ, भने स्थानीय तहसमेत गरी ९९ वटा कार्यालयहरु मार्फत् राजस्व असुली हुने गरेको जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ