काठमाडौं । श्रीलंकाको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले देशमा 'तत्काल लागु' हुने गरी टापुव्यापी आपतकाल घोषणा गरिएको बताएका छन् ।
अर्कातिर संवैधानिक मामिलाका विशेषज्ञ डा जयमाप्ती विक्रमरत्नेले अल जजीरासँग बोल्दै प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नसक्ने बताएका छन् ।
'आपतकालिन अवस्था यसरी घोषणा गर्न सकिँदैन। आपतकालिन अवस्था घोषणा गर्नु अघि, उहाँ (प्रधानमन्त्री) लाई कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त गर्न आवश्यक छ तर यो अहिलेसम्म भएको छैन,' उनले भनेका छन्, 'यो अवैधानिक आदेश हो। प्रधानमन्त्रीलाई संविधानबमोजिम संकटकाल घोषणा गर्ने अधिकार छैन।'
यस्तोमा कोलम्बोमा प्रदर्शनकारीहरूमाथि हेलिकप्टरहरू घुमेका छन् । यसलाई प्रदर्शनकारीहरुले नेताहरुको 'धम्की दिने प्रयास' भएको बताएका छन् ।
विरोधकर्ताहरुकी लिडर कल्पना मधुभाषिनीले आफुहरु अवैध प्रधानमन्त्रीले लगाएको अवैध संकटकाललाई स्वीकार नगर्ने बताएकी छन् ।
यस्तै उनले आफुहरुले राष्ट्रपति गोटाबाया राजपक्षे र प्रधानमन्त्री रानिल विक्रमासिंघे दुवैले सत्ताबाट बाहिर जानुपर्ने चाहेको बताएकी छन् ।
प्रधानमन्त्री विक्रमासिंघेले आपतकालिन अवस्था घोषणा गरेर आफूलाई कार्यवाहक राष्ट्रपतिको रूपमा प्रस्तुत गरेसँगै श्रीलंकामा कानुनी अस्पष्टता देखा परेको सरोकारवालाहरुले बताएका छन् ।
प्रधानमन्त्रीको कार्यालयले अब यसलाई कसरी व्याख्या गर्छ भन्ने बिषय अपेक्षात्मक रहेको छ । राष्ट्रपति राजापाक्षेले देशबाट भाग्नुअघि कार्यवाह राष्ट्रपति नियुक्त गरेका छैनन् ।
अहिले कोलम्बोको सडकहरूमा धेरै क्रोधसहित मानिसहरु उत्रिएका छन् । प्रधानमन्त्रीको कार्यालयमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ भने सेना र प्रहरी सडकमा खटिएका छन् ।