जनमतमा हैसियत थाहा नपाएका माधव गठबन्धनप्रति असन्तुष्ट, अन्य दलकाे समस्याले नेकपा एसले पनि नयाँ मन्त्री पठाउन पाएन
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
2.9k
Shares
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा एक महानगर र एक उपमहानगरपालिकासहित स्थानीय तहको नेतृत्वमा स्थापित भएको नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनप्रति असन्तुष्टि जनाएको छ । जनमतमा आफ्नो हैसियत कति हो भन्ने प्रष्ट नभएको सो पार्टीले गठबन्धनले सोचेजति सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएको हो ।
आइतबार दिउँसो सञ्चाररकर्मीहरुसँग कुरा गर्दै एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई गठबन्धन दलहरुले छुट्टै सिट नछुट्याएको र छुट्याइएका सीटमा पनि इमानदारपूर्वक मत नआएको बताएका थिए ।
‘पहिलो कुरो भनेको यो स्थानीय निर्वाचनमा हामीले के पाठ सिक्यौँ ? गठबन्धन नै गर्न हुँदैनथ्यो भन्ने पाठ हो कि ? शिक्षा हो कि ?’, उनले भने, ‘कि गठबन्धन गर्दा अहिलेको अवस्थाको विचार पुर्याउनुपर्ने हुन्थ्यो ? वास्तवमा कहीँ न कहीँ त्रुटी छ, यसलाई अब आउने दिनमा सुधार गर्नुपर्छ गठबन्धन दलहरुले महसुस गरेका छन् ।’
उनले अरु पार्टी अनुभवी तथा आफूहरुको पार्टी नयाँ भएकाले पनि समस्या भएको बताउँदै आगामी निर्वाचनसम्म गठबन्धनमा सहभागी हुने दाबी गरे । ‘पहिलो सन्दर्भ हाम्रो के भएको थियो भने अरु सबै पार्टीहरुले विगतको निर्वाचनमा भाग लिइसकेको अवस्था थियो । जनता समाजवादी पनि पुरानै थियो। तर, एकीकृत समाजवादी पार्टी मात्रै नयाँ बनेको कारणले विगतको चुनावको प्रशंसाबाट उसको शक्तिको आँकलन गर्न सक्ने अवस्था थिएन’, उनले भने, ‘त्यसो हुनाले विद्रोहमा साथ दिएका, एकीकृत समाजवादीको पक्षमा दृढतापूर्वक उभिएका, जनप्रतिनिधिको हकमा उहाँहरुलाई समर्थन गर्ने कुरामा साथ रहन्छ भन्ने कुरा सुन्नमा आएको थियो । मेरै कानले पनि सुनेको थियो । तपाईँहरुले पनि सुन्नुभएको होला । तर जब गर्नुपर्ने काम गर्नुपर्ने बेलामा हामीलाई पूरा सहयोग भएन ।’
अध्यक्ष नेपालले संसद विघठन गलत थिएन भन्ने स्वीकार गरेमा वाम गठबन्धन हुने सम्मको कुरा बताए । उनले केपी ओलीको नाम नलिइ संसद विघठनको विषयमा पुर्नविचार गर्ने वा गलत थियो भन्ने बारेमा गल्ती कमजोरी भयो भन्ने अवस्था आएमा वाम गठबन्धन हुनसक्नेसमेत बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले विगतमा कोही कसैसँग शत्रुता नभएकोसमेत बताए । ३० बैशाखको स्थानीय तहको चुनावमा भएको तालमेलप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । स्वयं अध्यक्ष नेपालले हालै स्थायी कमिटीमा पेश गरेको चुनावी समीक्षासम्बन्धी दस्तावेजमा कांग्रेसले दम्भ र माओवादीले अहंकार देखाएको बताएका छन् ।
आइतबार पनि नेता नेपालले स्थानीय चुनावमा गठबन्धन प्रभावकारी हुन नसकेको स्वीकार गरे । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आएका स्थानीय जनप्रतिनिधिलाई समर्थन गर्ने भनिए पनि कार्यान्वयन नभएको, देशभर निश्चित प्रतिशत वा प्रत्येक जिल्लामा उपस्थिति हुने गरी गरौं भदा पनि सहमति नभएको उनले सुनाए ।
उनले आफ्ना मन्त्रीहरु फिर्ता नगरेको र नयाँ मन्त्री नियुक्ति नगरेको विषयमा पनि असन्तुष्टि प्रकट गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिकमन्त्री बनेका प्रेमबहादुर आले अहिले विवादमा भएको विषयमा पनि उनी खासै खुलेर बोलेनन् ।
व्यक्तिको बारेमा बोल्न अप्ठेरो हुने रहेछ भन्दै पन्छिए । उनको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गालीगलौज गर्नुका साथै हातपात गरेको अडियो सार्वजनिक भएको विषयमा सोधिएको प्रश्नको उत्तर नदिई गोलमोटल जवाफमा टारेका थिए ।
‘मान्छेका बारे सोध्दा जवाफ दिन गाह्रो हुन्छ,’ उनले भने, ‘यति मात्र भन्छु, कुनै पनि कुरा बोल्दा विचार पुर्याएर बोल्नुपर्छ ।’ कतिसम्म भने उनी पार्टीबाट भएका मन्त्रीहरुले करिब ८ महिना गरेको कामको समीक्षा गर्नसमेत डराए ।
उनले आफ्नो बाध्यता सुनाए, ‘सन्तुष्ट छु भनौं, त्यो पनि समस्या । सन्तुष्ट छैन भनौं भोलिको समाचार त्यही बन्छ ।’ अध्यक्ष नेपालले ‘कामको समीक्षा गर्नुपर्छ । कमी कमजोरी रहेका छन् भने सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ । केके कमजोरी भए भन्ने मसिनो गरी खोतलखातल गर्नुपर्छ र अगाडि बढ्ने आँट गर्नुपर्छ’ भन्ने सैद्धान्तिक तर्क गर्दै प्रश्नलाई टारे ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउन सिफारिस गरेको एकीकृत समाजवादीले शहरी विकासमा मेटमणि चौधरी, पर्यटनमा जीवनराम श्रेष्ठ, श्रममा गैरसांसद शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
सो विषयले पार्टीभित्र समेत विवाद भएको थियो । बाध्यताले गर्दा एक कार्यकाल अर्थात ६ महिनाको निम्ति मात्र मन्त्री बनाएकाले अहिले फेर्न खोजेको अध्यक्ष नेपालले बताए ।
उनले अघि भने, ‘८ महिना पुगिसकेपछि मन्त्री परिवर्तन गरेका हौं । प्रधानमन्त्री र माओवादीका साथीहरुले हाम्रोभित्र पनि त्यस्ता माग आइरहेको छ भनेकाले एक दुई दिन पर्खिने हुन्छ ।’
माओवादीसँगै कांग्रेसभित्र पनि नयाँ मन्त्री पठाउनु पर्ने दबाब बढेको छ । त्यस्तै जनता समाजवादी पार्टीभित्र पनि यो समस्या छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सांसदहरुसँग छिट्टै नयाँ मन्त्री पठाउने आश्वासन दिएका छन् ।
नेकपा एसले बजेट पारित भएपछि मन्त्री फिर्ता गर्ने बताए पनि अहिलेसम्म उसको निर्णय पूरा गर्न सकेको छैन ।