सङ्कटमा पाक अर्थतन्त्र : सर्वसाधारणलाई कम चिया पिउन सुझाव
एजेन्सी,
प्रकाशित २०७९ असार १ बुधबार
1.8k
Shares
इस्लामाबाद। पाकिस्तान आर्थिक विपत्ति उन्मुख अवस्थामा छ। सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन। पाकिस्तानमा कतिसम्म आर्थिक सङ्कट छ भन्ने कुरा त्यहाँकै एक सङ्घीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ। किनकि देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटौती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।
एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयास स्वरूप म देशलाई एक कप चिया कम गर्न अपिल गर्नेछु।’
चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भारतमा जस्तै पाकिस्तानमा पनि चिया पारखीको ठुलो जनसङ्ख्या छ। पाकिस्तान अहिले ठुलो विपत्तिको किनारमा छ। आतङ्कवाद र राजनीतिक सङ्कटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेको छ।
पाकिस्तानको नयाँ सरकारले आगामी तीन वर्षमा ६ दशमलव ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेल आउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको छ।
अमेरिकी स्वार्थ बमोजिम सरकार गठन भएको भन्दै पूर्व प्रधानमन्त्री इमरान खानले केही सातादेखि निरन्तर सरकारविरुद्ध आन्दोलन चर्काइरहेका छन्। संसद्मा अविश्वासको प्रस्तावपछि उनले राजीनामा दिन बाध्य भएका थिए।