युक्रेनी अन्न निर्यातबारे छलफल गर्न रुसी विदेशमन्त्री टर्कीमा
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
654
Shares
काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी अन्न निर्यातको नाकाबन्दी हटाउनेबारे छलफल गर्न बुधबार दुई दिने भ्रमणका लागि टर्की पुगेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेयता युक्रेनी अन्न निर्यातमा बाधा पुगेको छ । खाद्य क्षेत्रमा विश्वकै ठूलो हिस्सा रहेको युक्रेनी अनाज रोकिदा खाद्य सङ्कट निम्तिने चिन्ता बढेको छ ।
छिमेकीहरूले लाभरोभको विमानलाई आफ्नो हवाई क्षेत्रबाट जान रोकेपछि लाभरोभ सोमबार सर्बियाको भ्रमण रद्द गर्न बाध्य भएका थिए ।
संयुक्त राष्ट्र सङ्घको अनुरोध पछि टर्कीले युक्रेनको बन्दरगाहबाट पानी जहाजको ताँतीलाई अनुरक्षण सेवा प्रदान गर्न सहमत भएको छ। सो क्षेत्रको जलमार्गमा बिष्फोटक पदार्थ फेला परेका छन्, जसमध्येका धेरै जसो टर्कीको तट नजिकै फेला परेका छन्।
एक सैन्य प्रतिनिधिमण्डलसँगै आएका रुसी विदेशमन्त्री लाभरोभले बुधबार टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुलाई भेट्ने कार्यक्रम छ ।
लाभरोभको यो दोस्रो टर्की भ्रमण हो । यसअघि मार्च १० मा उनले काभुसोग्लु र युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबालाई भेटेका थिए ।
अहिलेको भ्रमणको उद्देश्य मुख्यतया युक्रेनबाट अन्न ढुवानी गर्न सुरक्षा कोरिडोर खोल्नेमा केन्द्रित रहने बताइएको छ ।