नयाँ दिल्ली। सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन्। अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलव ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो।
आम आद्मीले उनको पक्राउको विरोध गरेको छ। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्विटमा हिमाचल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उद्देश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन्। जैन हिमाचल प्रदेशका आम आद्मीका इन्चार्ज हुन्।
केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मीले दिल्लीको अतिरिक्त गुजरात राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो।
भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने आम आद्मीले उद्घोष गर्दै आएको छ।