बाइडेन फर्किए लगत्तै उत्तरले गर्यो एकै पटक तीन ओटा मिसाइल प्रहार
एजेन्सी,
प्रकाशित २०७९ जेठ ११ बुधबार
1k
Shares
फाइल तस्बिर
प्योङयाङ। उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ। उत्तरले बुधरवार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घण्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो। क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए। भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए।
उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो। सन् २०२२ को सुरुदेखि नै उत्तर कोरियाले बारम्बार मिसाइल प्रहार गर्दै आएको छ। उत्तरले बुधवार प्रहार गरेको मिसाइल १७औँ हो।
उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट करिब एक घण्टाको अन्तरालमा मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ।