स्थानीय तहको अन्तिम परिणाम आएको १५ दिनभित्र कार्यपालिका गठन गर्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
822
Shares
तस्बिर– फाइल
काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ । गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन गर्नुपर्ने भएको हो ।
निर्वाचनमा मतदान ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै हुनेछन् । दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।
निर्वाचनबाट गाउँ कार्यपालिकाको हकमा चार जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा दुई जना सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान छ ।
नगर कार्यपालिकामा भने पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा तीन जना सदस्य निर्वाचित गर्नुपर्ने भनिएको छ ।