बारा । बारामा हालसम्मको मतपरिणामअनुसार नेकपा एमाले ठूलो दलको रुपमा अगाडि छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यसपटक चार पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुख जितेको छ ।
एमालेले कलैया उपमहानगरमा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढमा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हात पारेको छ । अघिल्लो पटक प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ ।
यसअघि प्रमुखसहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउन सफल भएको छ । एमालेसँग अहिले नौ जना पालिका प्रमुख र उपप्रमुख छन् ।
एमालेले चार स्थान जित्दा सोही अनुसारको जित हात पारेको कांग्रेसले उपमहानगरपालिका भने गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिकासहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सीमित छ ।
कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटामै सफलता हात पार्न सकेन । माओवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको हो ।
अघिल्लो निर्वाचनमा कांग्रेसले कलैयासहित निजगढ, स्रिमौनगढ, महागढीमाई, बारागढी, करैयामाइमा जितेको थियो । तर, यसपटक कांग्रेसले महागढीमाई नगरपालिका, कोल्हबी नगरपालिका र सुवर्ण गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकामा जितेको छ । कांग्रेससँग आठ जना पालिका प्रमुख उपप्रमुख छन् ।
अघिल्लो पटक चार स्थानीय तहमा जित हात पारेको तत्कालिन संघीय समाजवादी फोरम हाल जनता समाजवादी पार्टीले जिल्लामा हालसम्म तीन पालिका जितेको छ । जसपाले देवताल, करैयामाई र बारागढीमा जित हात पारेको हो । तत्कालिन संसफोले अघिल्लो पटक पचरौता, आदर्श कोतवाल, फेटा र सुवर्णमा जित हात पारेको थियो । जसपासँग अहिले ६ जना पालिका प्रमुख र उपप्रमुख छन् ।
यसैगरी, अघिल्लो पटक तीन गाउँपालिका जितेको तत्कालिन राष्ट्रिय जनता पार्टी हाल लोकतान्त्रिक समाजवादी पार्टीले दुई स्थानमा जित हात पारेको छ । लोसपाले सिम्रौनगढ नगरपालिका र बिश्रामपुर गाउँपालिकामा जित हात पारेको हो । तत्कालिन राजपाले जित हात पारेको देवताल, प्रसौनी र परवानीपुर लोसपाले गुमाएको छ । लोसपासँग हाल चार जना पालिका प्रमुख र उपप्रमुख छन् ।
बाराको एउटा पालिकामा विवेकशील साझा पार्टीले जित हात पारेको छ । विवेकशीलबाट रुस्तम अन्सारी अध्यक्ष र निलम साह उपाध्यक्षमा निर्वाचित भएका हुन् । अन्सारी नेपाली कांग्रेसबाट टिकट नपाएपछि विवेकशीलबाट चुनाव लडेका थिए । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट लडेका अन्सारी संघीय समाजवादी फोरमका अमिरिलाल प्रसादसँग पराजित भएका थिए ।