हेटौँडामा तीन हजार मत गन्न बाँकी, एमालेका अनन्त र सुमित्राले हार स्वीकार्दै मीनालाई दिए बधाई, मिलेर काम गर्ने प्रतिक्रिया
रविन्द्र गौतम,
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
1k
Shares
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रमुख उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएपछि नेकपा एमालेका मेयर उपमेयरका उम्मेदवारले बधाई दिएका छन् ।
हेटौंडा–२ स्थित मतगणनास्थलमै उपस्थित भई एमालेका उम्मेदवार अनन्त पौडेल र सुमित्रा काफ्लेले गठबन्धनकी मेयरकी उम्मेदवार मीनाकुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँलाई बधाई दिँदै खादा लगाइदिएका हुन् ।
हेटौंडामा अहिले मतगणना जारी छ । हालसम्म ७० हजार मतगणना भैसकेको छ । ७३ हजार ४१४ मत खसेको हेटौंडामा अब करिब ३ हजार मत गणना हुन बाँकी छ ।
३ हजार मतगणना बाँकी रहँदा मेयरकी गठबन्धनकी उम्मेदवार मीनाले दुई हजार भन्दा बढीको मतान्तरले अग्रता लिएकी छिन् । उता उपमेयरमा राजेश बानियाँको मतान्तर निकै बढी छ । अहिले हेटौंडा ९, १०, ११, १२ र १३ को मतगणना जारी छ ।
यता, विपक्षीको बधाई ग्रहण गरेपछि मीनाले आफू मिलेरै अगाडि बढ्ने बताएकी छिन् । उनले एमालेका नेताहरुसँग पनि बसेर योजना बनाएर अगाडि बढ्ने बताइन् ।