arrow

मधेस प्रदेशमा निर्वाचन

मधेसका हजार बढी मतदान केन्द्र अतिसंवेदनशील

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
election-commission-locla-gov.jpg

जनकपुरधाम। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशको सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । प्रदेशका १३६ वटै स्थानीय तहहरूमा निर्वाचन अधिकृत खटिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दियो।

स्थानीय तहको निर्वाचनका लागि १३६ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले बताए । निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश व्रजेश प्याकुरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

निर्वाचन आयोगले औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव रजेश शशि, कमला नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रुपेश कुमार साह, जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठूलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकेको छ ।

त्यस्तै, धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चिरञ्जीवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदीप कुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिस्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दीपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृत बनाइएको छ ।

लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चूडामणि फुयाँल, मिथिला विहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिस्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत वासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकिएको छ ।

जिल्लाहरूमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेको छ।

१ हजार ६३ मतदान केन्द्र अतिसंवेदनशील
आसन्न स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका अधिकांश मतदान स्थल ‘अति संवेदनशील’ सूचीमा रहेको छ। जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले गरेको वर्गीकरण अनुसार अधिकांश मतदान स्थल अति संवेदनशील सूचीमा परेका हुन् । मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा समावेश गरिएको छ भने संवेदनशील मतदान केन्द्र ८ सय ८८ वटा रहेका छन् । 

त्यस्तै, सामान्य मतदान केन्द्रको सङ्ख्या २ सय १२ रहेको छ। सप्तरीमा २ सय ८, सिराहामा १ सय ७०, धनुषामा १ सय ८३, महोत्तरीमा १ सय १०, सर्लाहीमा १ सय ३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदान स्थल अति संवेदनशील मानिएका छन् ।

त्यस्तै, सप्तरीमा ८५, सिराहामा ४६, धनुषामा १ सय १६, महोत्तरीमा १ सय ४५, सर्लाहीमा १ सय ८४, रौतहटमा १ सय१९, बारामा १सय ८ र पर्सामा ८५ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ ।

सप्तरीमा ४, सिराहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य सूचीमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।

यस प्रदेशमा १७ लाख ९७ हजार ९ सय ४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । प्रदेशभर २ हजार १ सय ६३ मतदान स्थल कायम गरिएका हुन् । ४ हजार १सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्थीले बताए ।

सप्तरीमा २ सय ९७ मतदान स्थल र ५ सय ३६ मतदान केन्द्र, सिराहामा २ सय २१ मतदान स्थल र ४ सय ९८ मतदान केन्द्र, धनुषामा ३ सय २३ मतदान स्थल र ५ सय ९३ मतदान केन्द्र, महोत्तरीमा २ सय ५८ मतदान स्थल र ४ सय ९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै, सर्लाहीमा ३सय १८ मतदान स्थल र ५ सय ९९ मतदान केन्द्र, रौतहटमा २ सय ७६ मतदान स्थल र ५ सय १८ मतदान केन्द्र, बारामा ३सय ३ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र तथा पर्सामा १ सय ६७ मतदान स्थल र ४ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ।

२१५ वटा दल दर्ता
मधेस प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ६ वटा राष्ट्रिय दलबाहेकका २ सय १५ वटा दल दर्ता भइसकेका छन् । सबैभन्दा बढी रौतहटमा ३० र सबैभन्दा कम महोत्तरीमा २० वटा दल दर्ता भएको छ।

त्यस्तै, सर्लाहीमा २९, बारामा २९ र सप्तरीमा २८ वटा दल दर्ता भएका छन् भने पर्सामा २७, धनुषामा २६ र सिराहामा २६ वटा दल दर्ता गरिएका हुन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण चन्द्र राउतले दर्ता भएका दलले आफ्नै चुनाव चिन्ह पाउने जानकारी दिए।

राउतका अनुसार मतपत्र छाप्न र निर्वाचन प्रक्रिया सजिलो होस भन्ने उद्देश्यले जिल्ला जिल्लामा पनि दल दर्ता गरिएको र आयोगमा पहिले नै दल दर्ता भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ