कांग्रेसबाट सुनवर्षीको मेयरमा २६ वर्षीय वीरेन्द्रकुमार साहको नाम सिफारिस
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
1.4k
Shares
विराटनगर। मोरङको सुनवर्षी नगरपालिकाबाट २६ वर्षीय वीरेन्द्रकुमार साहको नाम मेयर पदका लागि नेपाली कांग्रेस सुनवर्षी नगर समितिले सिफारिस गरेको छ। यससँगै मोरङ क्षेत्र न -२ ख प्रदेशले पनि वीरेन्द्रको नाम अगाडी जस्ताको त्यस्तै पठाएको छ। सिफारिस गरिएको नाम सिधै क्षेत्र जिल्ला हुँदै प्रदेश एक समितिमा छलफलको लागि जाने छ र अन्तिम निर्णय प्रदेश कार्य समितिले गर्ने छ।
२०७४ सालमा देशैभर वाम लहरको बाछिटा पर्दै गर्दा सङ्घीय र स्थानीय चुनावमा सुनवर्षीले कांग्रेसको साख गुम्न दिएन। कांग्रेसका दिवङ्गत सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विगतमा सुनवर्षी समेटिएको संसदीय क्षेत्रबाटै चुनाव जित्थे। कांग्रेसको त्यो विरासत जोगाउने अभिभारा आफूमा आएको एक जना २६ वर्षे ठिटो बताउँछन्।
उसै पनि राजनीतिमा पाका नेताकै हालिमुहाली छ। अब पनि युवाले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने हो भने राजनीतिमा जमेको फोहोर ज्युका त्युँ रहने उनको ठम्याइछ।
नेपाली कांग्रेसबाट दर्जन बढीले आकाङ्क्षा देखाए पनि २६ वर्षीय वीरेन्द्रकुमार साह मेयर उम्मेदवारका रूपमा सर्वाधिक चर्चामा छन्। साह नेपाली कांग्रेसका सम्भवतः मुलुककै कान्छो जिल्ला सदस्य हुन्। गत जिल्ला अधिवेशनमा खुल्लातर्फ अत्यधिक मत ल्याएर उनी मोरङ जिल्ला सदस्यमा निर्वाचित भएका थिए। पार्टी पङ्क्ति र बाहिर पनि ‘पपुलर’ बनेकै कारण सहजै टिकट पाउनेमा वीरेन्द्र विश्वस्त छन्।
धार्मिक र सामाजिक कार्यमा उनको लगाव अथाह छ। दीन दुःखीलाई सहयोग गर्ने कुरामा उनी मनकारी छन्। कोरोना महामारीको समयमा वीरेन्द्रको ‘सक्रियता’ असाधारण थियो। आफूलाई कुनै पर्बाह नगरी उनी मानव सेवामा खटेका थिए। विपन्नलाई राहत प्रदान र संक्रमितलाई अस्पताल भर्ना गर्न उनले कसर बाकी राखेका थिएनन्। आज पनि केही समस्या पर्यो भने सुनवर्षीका धेरैले सम्झने नाम नै वीरेन्द्र साह हो। उनको परिचय संचारकर्ममा पनि जोडिएको छ। उनी मोरङका गिनेचुनेका पत्रकार हुन् ।
चुनाव आउँदा मात्रै सक्रिय हुनेहरूको भीडमा उनी अपवाद हुन्। पार्टीका नेता कार्यकर्ता तथा आम नागरिकसँग सम्पर्कमा रहने उनको दैनिकी नै हो। पार्टीप्रतिको समर्पण र बलियो नागरिक सम्बन्धकै कारण कलिलै उमेरमा वीरेन्द्र सिंगो नगरकै कमाण्ड गर्ने खासियत बनाउन सफल भएका हुन्।
जसले मूर्तरूप पाउन, पहिला त उनले मेयर उम्मेदवारको टिकट पाउनुपर्यो, चुनावमा विजय हासिल गर्ने पाटो छदैछ। मेयर उम्मेदवारकै रूपमा चर्चामा आएपछि उनी भन्छन्-पार्टीले मलाई विश्वास गरेको खण्डमा मेयरको उम्मेदवारी दिन तयारी हालतमा छु। मलाई सुनवर्षीका नागरिकहरूले पनि सेवा गर्ने मौका दिनु हुने विश्वास छ। जनहित भन्दा अर्को कुनै स्वार्थ छैन।