जेरुसेलममा शान्त रहन राष्ट्रसङ्घका महासचिवको आह्वान
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
660
Shares
फाइल तस्बिर
न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्।
जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जना भन्दा बढी व्यक्ति घाइते भएका छन्।
यसै बीच मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदारहरू र पक्षहरूसँग नजिकको सम्पर्कमा कायम राखेका छन्।
गुटेरेसले संयुक्त राष्ट्रसङ्घका सान्दर्भिक प्रस्ताव, अन्तर्राष्ट्रिय कानुन र द्विपक्षीय सम्झौताको आधारमा द्वन्द्व समाधान गर्न प्यालेस्टिनी र इजरायलीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको विज्ञप्तिमा जनाइएको छ।