arrow

दरबारमार्ग महोत्सव : एफएनसीसीआई, एनसेल सहित निजी क्षेत्रको सहकार्यले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
ncell-fncci-dugarmarg-program.jpg

काठमाडौँ। नेपाली नयाँ वर्ष २०७९ को अवसरमा भोलि वैशाख ३ गते, शनिवार काठमाडौँको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सवको आयोजना हुँदै छ। महोत्सवको औपचारिक शुभारम्भ मध्यान्ह १२:३० बजे नारायणहिटी दक्षिण गेटमा सजाइएको विशेष मञ्चबाट हुनेछ। सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ औपचारिक सुरु हुने महासङ्घले जनाएको छ।

महोत्सवको चहलपहल भने बिहान ११ बजेबाटै सुरु हुनेछ। यस सम्बन्धी सम्पूर्ण तयारी पुरा भैसकेको आयोजकले जानकारी दिएका छन्।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको 
हो। महोत्सवको मूल नारा सहकार्य: ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ रहेको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसंग महासङ्घको विशेष सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो। गीतसङ्गीत, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरू सहित यो महोत्सव बेलुका ८:१५ बजेसम्म आयोजना गरिनेछ।

चर्चित गायक गायिका, कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुति, स्वदेशी उत्पादनहरूको विशेष प्रदर्शन स्टलहरू र बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरू रहने छन्।

महोत्सवमा दीपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय साङ्गीतिक समूह सुर सुधा लगायत अन्य कलाकार तथा समूहहरू जस्तै एभरेस्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिँदै आगन्तुकहरूलाई गीतसङ्गीतले मनोरञ्जन दिनेछन्। साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एन्ड सुमन कोइरालाको प्रस्तुतिहरू रहनेछन्।

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरू पनि प्रदर्शनीमा राखिने छन्। त्यसै गरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रदर्शनीमा रहने छन्। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्।

हाल ९० प्रतिशत बढी जनसङ्ख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा निजी क्षेत्रको सहकार्यमा आयोजना हुन गइरहेको यस महोत्सवले आर्थिक क्रियाकलापलाई जागरूक बनाउने विश्वास गरिएको छ।

महोत्सवको मुख्य प्रायोजकमा एनसेल रहेको छ भने सह–प्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्ट्याग रहेका छन्। महोत्सवको बैङ्किङ पार्टनरमा एनआइसी एसिया बैङ्क, इन्सुरेन्स पार्टनरमा नेशनललाईफ इन्सुरेन्स, विभरेज पार्टनरमा डावर नेपाल, अन्य सहयोगी पार्टनरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, मनकामना केवल कार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरी रहेका छन्। 

विश्व भरी महामारीको रूपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठुलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ।

महोत्सवको शुभारम्भ समारोहमा आयोजक संस्थाका पदाधिकारीहरू, मुख्य प्रायोजक प्रायोजक संस्थाका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरूको उपस्थिति रहने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ