काठमाडौं। साउन २३ गतेदेखि काठमाडौंमा सुरू भएको नेपाल विद्यार्थी संघको ११ महाधिवेशन अझै लम्बिने सम्भावना बढेको छ। हिजो नै मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने र शनिबार मनोनयन दर्ता गर्ने भनिएपनि त्यो शुक्रबार अबेरसम्म पनि सम्भव नभएपछि शनिबार मनोनयन दर्ता हुने सम्भावना कम रहेको निर्वाचन समितिले जनाएको छ।
समिति सदस्य अरूण कुमार पञ्जियनरले दिएको जानकारी अनुसार हिजो राती अबेर महेन्द्र शर्मा पक्षको प्रतिनिधिको नामावली टुङ्गो लागेपनि कुन क्याम्पस कुन विश्वविद्यालय अन्तर्गत् पर्छ भन्ने विषयमा पहिचान गर्ने काम बाँकी नै रहेको जानकारी दिए। यस विषयमा थप छलफलको लागि निर्वाचन समितिका बैठक ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पञ्जियारले जानकारी दिए।
पंजियारले निर्वाचन भने सोमबार हुने सम्भावना रहेको पनि बताए। हाम्राकुरासँग कुराकानी गर्दै उनले भने ‘आज यो सबै काम सकिएको भए आजै मनोनयन दर्ताको काम सुरू गरेर आईतबार निर्वाचन गर्न सकिन्थ्यो। तर आज मनोनयन दर्ता गर्ने सम्भावना ज्यादै न्यून रहेको छ। त्यसैले निर्वाचन सोमबार हुन्छ होला।’ निर्वाचनको विषयमा आधिकारिक जानकारी ८ बजे बस्ने बैठकले निर्णय गरेपछि मात्रै दिन सकिने पनि उनले जानकारी दिए।