कोरोनाको अर्को खतरनाक एक्सई भेरियन्ट फैलियो, डब्ल्यूएचओले दियो चेतावनी
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
1.1k
Shares
काठमाडौं। कोरोना भाइरसको संक्रमण केही समय विश्वभर कम भए पनि फेरि त्रास बढेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढेर लकडाउन सुरु भएको छ भने, अर्को बढी सङ्क्रामक एक्सई भेरियन्ट समेत देखा परेको छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोनाभाइरसको नयाँ सबभेरियन्ट एक्सई ओमिक्रोनभन्दा १० गुणा बढी सङ्क्रामक हुनसक्ने चेतावनी समेत दिएको छ ।
के हो एक्सई भेरियन्ट ?
एक्सई ओमिक्रोन भेरियन्टका दुई भर्जन बीए.१ र बीए.२ को समिश्रणबाट बनेको सब अथवा उप भेरियन्ट हो । सुरुमा जनवरीको मध्यतिर बेलायतमा देखिएको एक्सई भेरियन्टका ६ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।
एक्सई बाहेक अन्य दुई रिकम्बिनेन्ट भेरियन्ट समेत फेला परेका छन् । ती एक्सडी र एक्सएफ डेल्टा र ओमिक्रोन भेरियन्टको समिश्रणबाट बनेका हुन् । एक्सई भने ओमिक्रोन कै दुई भर्जनबाट बनेको हो ।
यद्यपि, यो भेरियन्टबारे अझै अनुसन्धान भइरहेको र यथेष्ट जानकारी आइ नसकेको डब्ल्यूएचओ एवं स्वास्थ्य संस्थानहरूले जनाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार हाल देशमा ८ सय ४२ जना कोभिड१९का सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् ।
पीसीआरबाट २९४२ र एन्टीजेनबाट २११७ गरी कुल ५ हजार ५९ वटा नमुना परीक्षण गरिएका थिए । तीमध्ये पीसीआरबाट ३२ र एन्टीजेनबाट १ जानमा संक्रमण पुष्टि भएको हो ।