arrow

भ्युटावर निर्माणले उब्जाएका प्रश्नहरू 

logo
संजिव कार्की,
प्रकाशित २०७८ चैत १७ बिहिबार
shanjiv-karki.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले रोल्पा र एमाले अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीमा भ्युटावरको उद्घाटन गरेपछि देशभर भएका भ्युटावरका तस्बिर सार्वजनिक संजालमा व्याप्त भएका छन् । भ्युटावरको विरोधमा सबैले आ(आफ्नो गच्छेअनुसार विचार अभिव्यन्जित गरिरहेका छन् ।

सबै विचार र अभिव्यक्तिको चुरो हो यो समग्रमा गलत भयो । गलत थियो । यसको समर्थनमा झिनो मत पनि देखिएको छ । उनीहरूको तर्क छ पर्यटनमा टेवा दिने रोजगारी सिर्जना गर्ने कार्य गर्छ । यद्यपि यति ठूलो लगानी अन्यत्र गरिएको भए, कुनै उद्योग धन्दा संचालन गरिएको भए त्यसले सिर्जना गर्ने रोजगारी र अन्य अवसरको हिसाबबारे उनीहरू अनभिज्ञ छन् ।

विकासको नाममा जुन मानक प्रस्तुत गरियो त्यो नितान्त नकाम गरियो । शासक, प्रशासकहरू प्राथमिकता छनोट गर्न चुकेको सबै भन्दा गतिलो उदाहरण हो भ्युटावरको निर्माण र त्यसमा खन्याइएको बजेटको भीमकाय आकार । प्रचण्डले रोल्पाको भ्युटावर उद्घाटन गर्दै रोल्पा ध्वंसमा मात्र होइन निर्माणमा पनि रेकर्ड बनाउन सक्छ भन्ने उदाहरण प्रदर्शन गरेको छ भन्दै रोल्पाले विकासमा ठूलो प्रगति गरेको बताए ।

चार करोड ७७ लाख खर्च गरेर निर्माण गरेको भ्युटार ठड्याउनु विकास हो कि रोल्पाली जनताको आधारभूत  शिक्षा, स्वास्थ्य, रोजगार र जनजीविकामा हुने प्रगति विकास हो ? प्रचण्ड स्वयंले खुट्याउन नसकेको विकासको परिभाषा हो यो । रोल्पामा बाटो, खानेपानी, स्कुल, स्वास्थ्य सेवा र आधारभूत मानवीय आवश्यकता कस्तो छ ? जनयुद्दको क्रममा भएका घाइते शहीद र तिनका परिवारको अवस्था आम रोल्पाली नागरिकमा भ्युटावर निर्माण पश्चात प्राप्त हुने उपलब्धि के ? आधुनिकीकरण र विकास भनेको कम प्राथमिकताको क्षेत्रमा अनुत्पादक लगानी गर्नु हो ? 

सिद्दान्ततः भ्युटावर निर्माण गर्नु नै हुँदैन भन्ने होइन । तर यसको औचित्य र महत्व, आवश्यक्तालाई मध्यनजर नगरी डाँडाको टुप्पोमा र अहिल्यै निर्माण गर्नु चैं ‘मुखलाई माड छैन तिघ्रोलाई घ्यूको’ नेपाली उखानको चरितार्थ भएको छ ।

यसबारे प्रचण्ड स्वयं प्रशिक्षित हुनु जरूरी छ । एक ट्याब्लेट सिटामोल, एक पुरिया जीवनजल खान नपाएर भाँचिएको हातमा एउटा झुम्रो ब्यान्डेज बाँध्न नपाएर, सुत्केरी हुँदा एक शिशी स्लाइन पानीको अभावमा अकालमा ज्यान गुमाउने जनताले भ्युटावर निर्माणलाई आफ्नो ठान्छन् कि अस्पताल, दबाइ र स्वास्थ्यकर्मीले दिने सेवालाई ? 

आय आर्जन गर्ने कुनै उद्योग खोलिएको भए त्यत्रो रकमको सदुपयोग हुन्थ्यो । घर घरमा सिंहदरबारको नारा गाउँगाउँमा भ्यु टावर हो ? संघीयता भनेकै भ्यु टावररुपी कंक्रिटको पिल्लर उठाउनु हो ? समयले यसको जवाफ खोज्छ ।
 
एक अर्ब  ५६ करोड लागतको पूर्व प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको दमकमा रहेको भ्युटावरबारे प्रारम्भदेखि नै विरोध र अनुत्पादक क्षेत्रको लागनी भनेर चर्चा हुँदै आएको हो । ओलीले आफ्नो युगको काम नै भ्युटावर युगमा बदले । रुपन्देहीको भ्यु टावर जसको लागत १४ करोड छ ।

सो उद्घाटन गर्दै ओलीले भ्युटावर निर्माणले नयाँ सोच र नयाँ विचार सिर्जना भएको भाषण ठोके । उनको भनाइ असत्य होइन यो नयाँ सोच र नयाँ विचार नै हो । तर समृद्दिको मानक भ्युटावर हुन सक्दैन भन्ने हेक्का चैं राखेनन् । जनतालाई भोकै नाङ्गै राखेर शिक्षा र स्वास्थ्यबाट वन्चित बनाएर निर्माण गरेको डाँडाको टुप्पोको भ्यु टावरले के दिन्छ ? कम्युनिस्ट पार्टीको पक्षधरता सीमित दलाल पुँजीपति वर्ग कि विपन्न वर्ग ? भ्यु टावर निर्माण पश्चात लाभान्वित हुने वर्ग कुन हो ? व्यापारी ठेकदार भू–माफिया र नेता बाहेक जनतालाई यसबाट प्राप्त हिस्सा कति आउँछ ? जनजीविका, रोजगारी, स्वास्थ्य र शिक्षामा यसले कति र कस्तो योगदान गर्छ ? त्यसको लेखाजोखा बिनाका हावादारी तर्क र कुराले यस्तो निर्माण गरिनु समय र पैसाको बर्बादी मात्रै हो । 

नेपाल उसै पनि डाँडा, पहाड, टाकुरा र हिमालले भरिएको देश हो । यहाँ कुनै दृश्य टाढा टाढासम्म हेर्न टावरको सहारा नै लिनु पर्दैन यस्तो ठाउँमा टावर निर्माण फजुल खर्च र अनावश्यक खर्च मात्रै हो । जसको बारे बुद्दिजीवी, विकासविद्, वातारणविद्, विज्ञ, कर्मचारी र नागरिक समाजले शासन गर्नेलाई बुझाउन चाहेनन् । सकेनन् । जुन दुर्भाग्यपूर्ण हो ।

फजुल खर्च गर्नबाट रोक्न नसक्ने बुद्दिजीवी र नागरिक समाज कर्मचारी भएको देश कहिल्यै उँभो लाग्दैन । राजनीतिज्ञको पागलपनलाई लाल मोहर लगाइदिने बुद्दिजीवी, विकासविद् र योजना आयोग रहेसम्म फजुल खर्च र हावादारी विकासमा लगाम लाग्दैन । निर्माण सम्पन्न भइसकेका, निर्माणाधीन र निर्माणको शुरुआती चरणमा रहेका भ्युटावरको संख्या यकीन नभए पनि करिब तीन सयको हाराहारी रहेको अनुमान छ । देशमा १५ खर्ब भन्दा बढी वैदेशिक ऋण छ । प्रत्येक नागरिक जन्मने बित्तिकै ५० हजार बराबरको ऋण बोकेर जन्मन्छ । 

यस्तो बेला देशको लगानी उचित र उपयुक्त स्थानमा हुनुपर्ने थियो । गम्भीर भएर समीक्षा गर्नु पर्दैन ? विकासे बजेट जनताको आर्थिक, सांस्कृतिक, बौद्धिक, शैक्षिक र भौतिक उन्नतिको लागि नभएर फगत रमिता र बर्बादीको लागि मात्रै हुनु कति जायज छ ? भोलिको पुस्ताले सराप्ने र धिक्कार्ने कर्म गर्न किन उद्दत छौं हामी ? 

ठाउँ ठाउँका अस्पताल, स्कुल भवन र पुस्तकालयका बिजोग र खराब हालत देख्दा भ्युटावरमा पैसा खन्याएकोमा पछुतो लाग्नु पर्दैन ? स्कुलमा शौचालय छैन, खानेपानी छैन, गाउँमा स्वास्थ्य चौकी छैन । स्वास्थ्य चौकी भएमा स्वास्थ्यकर्मी छैनन् । औषधि छैन । स्वास्थ्यचौकी माग्न जाँदा, स्वास्थ्यकर्मीको दरबन्दी माग्दा, अत्यावश्यक स्वास्थ्य उपकरण माग्दा, औषधि खोज्दा बजेट छैन भनिन्छ । अनौचित्यपूर्ण ठाउँमा बजेट पोखिन्छ । भ्यु टावरलाई विकासको मानक मानेर प्रतिष्पर्धा गर्दै यो ठड्याउने काम सर्वथा अनुचित छ ।

ठूला नेता र तिनको सिको गरे यो कति ठीक र कति बेठीक छुट्याउने विवेक प्रयोग गरेनन् । आफ्नो नाम राख्न र उद्घाटनको नाममा जसरी ओली काठमाडौंमा नवनिर्मित धरहरा उद्घाटन गर्न हतारिए त्यसैगरी देशभरका जनप्रतिनिधि आफ्नो कार्यकालको विकासको मानक भनेर डाँडाको टुप्पोमा सिमेन्टको पिल्लर उभ्याउन हतारिए ।

हामीले चाहने र गर्ने भनेको आजको आवश्यकताको कुरा हो । तर गरिंदैछ उल्टो । अस्पताल, एम्बुलेन्स, एयर एम्बुलेन्स, स्कुल, कलेज, विश्वविद्यालय, बाटो, बिजुली, कुलो, नहर आदिमा खर्चिने रकम भ्यु टावरको लागि खर्चेर यसको मोह र आकर्षणमा हामी नमज्जाले फसिरहेका छौं । जहाँ जहाँ भ्यु टावर निर्माण भएका छन् ती ठाउँमा प्राथमिकता दिनु पर्ने अरु थुप्रै पक्ष छन् ।

अधिकांश ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, चर्पी, खानेपानी, बाटोघाटो, कुलो नहर आदिको चरम अभाव छ । तर त्यस्तो क्षेत्रमा प्राथमिकता पहिचान नगरी जे भइरहेको छ यो कुनै पनि मानेमा औचित्य पुष्टि गर्न सक्ने गरी भएको छैन । यहाँ कुनै पनि पार्टी र तिनले जितेको स्थानीय निकाय चोखो छैन । ज–जसले जितेको भए पनि तिनले भ्युटावरलाई विकास र आफ्नो कार्यकालको मानक उपलब्धि सोच्ने र देख्ने भए ।

ठूला नेता र तिनको सिको गरे यो कति ठीक र कति बेठीक छुट्याउने विवेक प्रयोग गरेनन् । आफ्नो नाम राख्न र उद्घाटनको नाममा जसरी ओली काठमाडौंमा नवनिर्मित धरहरा उद्घाटन गर्न हतारिए त्यसैगरी देशभरका जनप्रतिनिधि आफ्नो कार्यकालको विकासको मानक भनेर डाँडाको टुप्पोमा सिमेन्टको पिल्लर उभ्याउन हतारिए ।

स्मरण रहोस तत्कालीन प्रधानमन्त्री ओलीले उद्घाटन गरेको धरहरा एक वर्षसम्म निर्माण सम्पन्न भएको छैन । अझै निर्माणाधीन छ । शिलान्यास र उद्घाटनमा फरक के रह्यो र ? काम सम्पन्न भएपछि गरिने उद्घाटन काम सम्पन्न अगावै जसरी गरियो त्यसले पनि हामी कुन लोभ र स्वार्थले काम गरिरहेका छौं, प्रष्ट हुन्छ । हाम्रो राष्ट्रिय चरित्रको चित्र प्रकट गर्दछ । विना नीति र योजना कसरी काम हुन्छ त्यसको दीर्घकालीन असर र प्रभाव कस्तो पर्छ त्यसको हिसाब किताब नगरी गरिने कार्यले गलत संस्कृति, परम्परा र चलन निर्माण भइरहेको हुन्छ । 

‘बडाले जो गर्यो सो हुन्छ सर्वसम्मत’ भने झैँ ओलीले आफ्नो कार्यकालमा र आफ्नो क्षेत्रमा जुन लागतमा त्यति ठूलो भ्यु टावरको निर्माण शुरु गरे त्यसको प्रतिफल देशभर अनुत्पादक क्षेत्रमा देशको खर्बौं बजेट स्वाहा पारियो । पारिंदै छ । धर्म, संस्कार, शिक्षा, स्वास्थ्य सबैतिर राज्यको दायित्व बराबरी हुन्छ । तर राज्यले प्राथमिकता तय गर्दा तुरुन्तै पशुपतिको जलारीको लागि करोडौंको रकम आवश्यक पर्छ कि कुनै दुर्गममा स्वास्थ्यचौकी ? त्यसमा विवेक प्रयोग गर्नुपर्छ । सुन्दर भ्युटावरबाट देखिने विरूप दृश्यहरू पहिले मेटेर सुन्दर दृश्य सुन्दर सोच र सुन्दर संसार निर्माण गर्नु उपयुक्त हुन्छ । 

सिद्दान्ततः भ्युटावर निर्माण गर्नु नै हुँदैन भन्ने होइन । तर यसको औचित्य र महत्व, आवश्यक्तालाई मध्यनजर नगरी डाँडाको टुप्पोमा र अहिल्यै निर्माण गर्नु चैं ‘मुखलाई माड छैन तिघ्रोलाई घ्यूको’ नेपाली उखानको चरितार्थ भएको छ । संसारकै सबैभन्दा  ठूलो प्राकृतिक टावर भएको देशमा मानव निर्मित  भ्यु टावरको भ्यालु कति रहला ?  भ्यु टावर त्यतिबेला आवश्यक हुन्छ जतिबेला समृद्दिले देश उज्यालो भएको होस् । हरेक गाउँ बस्तीमा भोक, रोग, गरिबी, अशिक्षा, पछौटेपन अत्यन्त न्यून होस् त्यतिबेला भ्युटावरको गरिमा र महत्व रहन्थ्यो ।

तमाम अभाव अप्ठ्यारा र असजिला पक्ष थाँती राखेर बन्ने भ्यु टावर गाली श्राप र निन्दाको बिम्ब बनेर ठडिने छन् , जनताको चाहना र आवश्यकता भन्दा फरक सोच र शैलीले देश बन्दैन । भूकम्पले लडेको धरहरा उठाउनु थियो त्यो उठ्यो त्यसको लागि धन्यवाद छ । तर अन्यत्र पहाडको शिखरमा प्राकृतिक रुपमा नै रहेको टावरलाई महत्वहीन मानियो । त्यो दूरगामी सोच र विकास समृद्दिको तार्किक निष्कर्ष होइन । 

डाक्टर गोविन्द केसीको सत्याग्रहको १७ औं श्रृंखलामा काठमाडौंमा प्रदर्शन गर्ने क्रममा सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाएन्सका संयोजक डाक्टर जीवन क्षेत्रीले बोकेको प्लेकार्डले हाम्रो प्राथमिकता र देशको स्थिति बोल्छ । जहाँ लेखिएको थियो–
‘भ्युटावरलाई तीन अरब 
मन्दिरलाई एक अरब 
जनतालाई साउदी अरब’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ